चोरसँग खुर्सानीको धुलो


बाँके, (नेस)
नेपालगन्जमा बिहीबार राति दुई ठाउँमा चोर पसे। औद्योगिक क्षेत्र अगाडिको आईएमई र नर्सिङहोम अगाडिको मोबाइल पसलमा तीन जना चोर पसेका थिए। आईएमईमा सटर, सिसा फोडेर पसेका चोरले त्यहाँ नगद भेटाएनन्। कम्प्युटर, प्रिन्टर, ल्यापटपहरू त्यही भए पनि चोर नगदमा केन्द्रित थिए। काउन्टरमा धेरै पैसा नभेटाएपछि चोरले प्रिन्टरलाई उठाएर पछारेको देखिन्छ। आईएमई सञ्चालकका अनुसार, तीन सय जति काउन्टरमा थियो। त्यही लिएर गएछन्। चोरी धेरै नभए पनि लाखौंको मालसमान तोडफोड भएको छ।

त्यही चोरको समूह नर्सिङहोम अगाडि रहेको साहु मोबाइल सेन्टरमा आयो। त्यहाँ पनि सटर फोरेर भित्र पसे। त्यहाँ चोर्दा चोर्दा प्रहरी र नर्सिङहोमका गार्डले देखे। प्रहरी र गार्डले मिलेर चोरलाई समात्ने प्रयास गरे। दुई जना समातिए पनि। एकजना भने फरार भए।

फरार भएका व्यक्तिले खुर्सानीको धुलो फ्याँकेर भागेका थिए। खुर्सानीको धुलो परेपछि गार्डले उनलाई समात्न सकेनन्। नेपालगन्जका राजीव गुप्ता र साहित गुप्ता भने पक्राउ परेका छन्।