वृद्धवृद्धाले भत्ता पाएनन्


गुल्मी, (नेस)

दुई महिनाअघि पाउनुपर्ने सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीमा वृद्धवृद्धाले पाउन सकेका छैनन्।

सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन्। सरकारले स्थानीय तहको पुनर्संरचना गरेको तीन साता बितिसक्दा पनि जिल्ला समन्वय समितिले गाउँपालिका र नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण बूढाबूढीहरू सामाजिक सुरक्षा भत्ता पाउनबवाट वञ्चित भएका हुन्।

सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गएको माघ १५ गतेभित्र बाँड्नुपर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै गाउँ विकास समितिका खातामा रकम उपलब्ध नगराएका कारण उनीहरूले समयमा भत्ता पाउनबाट वञ्चित भएको साविकका गाविस सचिव हकहित संरक्षण केन्द्र गुल्मीका अध्यक्ष गोपाल सेनले बताए।

जिविसले पहिल्यै गाविसको खातामा रकम नपठाउँदा समस्या आएको सेनले बताए। सेनले भने– ‘गाउँमा जाँदा बूढाबूढीले सचिवहरूले ल्याएर खातामा राखेका छन् कि भनेर शंका गर्छन, हामीलाई त गाउँमा गएर ती बूढाबूढीको अगाडि मुख देखाउन पनि लाजमर्दो हुन लाइसक्यो।’

स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले भने साविकको जिल्ला विकास समितिबाट चेक काटेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको अवस्थामा सरकारले स्थानीय तहको पुनर्संरचना गरेपछि चेक रोकिँदा समस्या आएको बताउनुभयो।

‘हामीले सबै प्रक्रिया पूरा गरेर खातामा रकम पठाउनका लागि कोलेनीका पठाएका थियौं, नयाँ संरचना लागू भएपछि चेक रोकियो, नयाँ खाता खोल्न पत्र पठाइसकेका छौं, अब चाँडै खातामा रकम जान्छ’ –स्थानीय विकास अधिकारी श्रेष्ठले भन्नुभयो। श्रेष्ठले बूढाबूढीले समयमै भत्ता रकम पाउन नसकेकोमा आफू पनि चिन्तित बनेको बताउनुभएको छ।