दोलखाका भूकम्पपीडितको म्यादीमा भीड

0
Shares

घर बनाउन सहयोग पुग्ने आशा

नेपाल समाचारपत्र
दोलखा
दोलखामा म्यादी प्रहरीका लागि १ हजार ६ सय ७२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आवेदन दिने अधिकांश भूकम्पपीडित रहेका छन्।

दोलखा जिरी नगरपालिकाका झपटबहादुर नेपाली भूकम्पले घर भत्किएको र आर्थिक अभावले अहिलेसम्म घर निर्माण गर्न नसकिएकाले म्यादी प्रहरीमा जागिर खान सके बचेको पैसाबाट घर निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको बताउँछन्। ‘भूकम्पले घर, सम्पत्ति सबै सकिदियो कमाउने अरू उपाय छैन त्यसैले घर बनाउन केही सहयोग पुग्छ कि भनेर म्यादी प्रहरीमा आवेदन दिन आएको हुँ’ –नेपालीले भने।

भूकम्पले घर तथा सम्पत्ति गुमाएकी ४७ वर्षीया रोहनी दाहाल पनि म्यादी प्रहरीमा आवेदन दिन आएकी छन्। उनी भन्छिन्– ‘म्यादीमा जागिर खान पाए सरकारले दिने अनुदानमा थपथाप गरेर घर बनाउन सकिने थियो कि।’

खारे–५ की जानुका श्रेष्ठ पनि भूकम्पपछि आर्थिक समस्यामा परेकाले म्यादीमा जागिर खाएर आउने पैसाले घरखर्च चल्ने सोचले आवेदन दिन आएको बताउँछिन्। अहिले सामान्य खेती किसानी गर्दै आएकी श्रेष्ठ भूकम्पपछि राहत समेत नपाएकाले गुजारा गर्नै मुस्किल भएको गुनासो गर्छिन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार आवेदन दिने अन्तिम दिन बिहीबारसम्म १ हजार ६ सय ७२ जनाले आवेदन दिएकोमा ५ सय ५८ जना महिला रहेका छन्। आवेदन दिन युवायुवती र कतिपय पौढ महिला तथा पुरुषसमेत आएको प्रहरीले जनाएको छ। शैक्षिक योग्यता आठ पास भए पुग्ने म्यादीका लागि स्नातक गरेका युवायुवतीसमेत आएको प्रहरी भनाइ छ।