दलको कार्यक्रममाथि प्रतिबन्ध

0
Shares

सन्तोष अधिकारी, गोरखा
गाउँपालिकाको केन्द्र जनतालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सौरपानीबासीले आफ्नो क्षेत्रमा सबै राजनीतिक दलका कार्यक्रमलाई निषेध गरेका छन्। सुलिकोट गाउँपालिकाको केन्द्र अध्ययन नै नगरी नगरी ताकुकोटलाई सिफारिस गरेपछि सौरपानीबासी रुष्ट भएका हुन्।

उनीहरूलाई स्वाँरा र बारपाकको पनि साथ छ। सौरपानीबासीले स्थानीय युवाहरू कुलप्रसाद न्यौपाने र दलबहादुर तामाङको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरेका छन्। गत ८ गते नेपाली कांग्रेसले सो क्षेत्रमा स्थानीय निकायको निर्वाचन विशेष कार्यक्रम गर्न लागेकोमा सौरपानीबासीले विरोध गरे। सौरपानीमा कार्यक्रम गर्न नदिएपछि नेपाली कांग्रेसले ताकुकोटमा गएर कार्यक्रम गर्यो। एमालेले गत ६ गतेका लागि तय गरेको कार्यक्रम गर्न पाएन।
नेकपा माओवादी केन्द्रले भने केही दिनअघि मात्रै सौरपानी गाविसको फेदीमा रहेको हुँडीखोला फाँटमा कार्यक्रम गर्यो। केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई ल्याएर कार्यक्रम गरेको थियो। सौरपानीबासीले नारायणकाजीलगायत माओवादी नेता तथा कार्यकर्तालाई कालो झन्डा देखाएर विरोध जनाए। ‘नारायणकाजी मात्र होइन जुनकुनै पार्टीका जो नेता पनि सौरपानीबासीको माग सम्बोधन नगरी यहाँ कार्यक्रम गर्न आउँछ भने कसैको साथ रहँदैन’, संघर्ष समितीका संयोजक न्यौपानेले भन्नुभयो– ‘जिल्लाबाट प्रजिअ, एलडीओ जो आए पनि उहाँहरूलाई पनि जनताले के गर्छन् त्यत्ति बेलै थाहा होला।’

आफूहरूको भावना नबुझी कसैको इसारामा भूगोल नमिल्ने ठाउँमा केन्द्र राख्ने सरकारी कार्यालयका हाकिम पनि जनताको घरदैलोमा आउन आवश्यक नरहेको स्थानीयको भनाइ छ। निर्वाचनमा कसैलाई भोट नहाल्ने सहमति नै गरिसकेको स्थानीय बताउँछन्। स्थानीय कलमदिन मियाँ प्रतिप्रश्न गर्दै भन्नुहुन्छ– ‘जनतालाई सजिलो सेवा दिन भनेर स्थानीय निकायको संरचना बनाएका होइनन्। के सजिलो भयो त हामीलाई ताकुकोट केन्द्र भएर। कमसेकम जनतालाई सँग छलफल गरेर सीमांकन गर्नुपर्दैन। नेताको कार्यक्रम हामीलाई चाहिएन।’

१६ सय घरधुरी रहेको सौरपानीबासीले गाउँपालिकाको केन्द्रभन्दा पनि गाविस सबैलाई एउटै वडा बनाएकोप्रति साह्रै चित्त दुखाएका छन्। तत्कालीन सौरपानी गाविसलाई दुईवटा वडामा विभाजन नगरेसम्म विरोध कार्यक्रम जारी रहने स्थानीयले बताएका छन्। दलको कार्यक्रम बहिष्कार गर्न नेपाली कांग्रेसका विरबहादुर गुरुङ, नेकपा एमालेका भरत प्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका सुनेम गुरुङ, राप्रपाका शान्तनारायण श्रेष्ठ र नयाँ शक्ति नेपालका अमित गुरुङबीच लिखित सम्झौता भएको स्थानीयले कलमदिन मियाँले बताउनुभयो।