बन्दुक पड्कँदा सुनारको मृत्यु


सन्तोष अधिकारी, गोरखा ।

जिल्लाको हिमाली गाविस उहियाको एक आरनमा बन्दुकको नाल पड्कँदा दिलबादुर सुनारको मृत्यु भएको छ । स्थानीय चिन्त गुरुङ्गले गत भदौमा जंगलमा भेडा चराउन जाँदा भेट्टाएर ल्याएको बन्दुकको नाल बुधबार दिउँसो दुई बजे आरनमा तताएर फाली बनाउने क्रममा पड्किएर सुनारको ज्यान गएको हो ।

सुनारको तिघ्रा र गुप्ताङ्गमा सो बन्दुकको छर्राले लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बीरेन्द्र थापाले जानकारी दिनु भयो । प्रहरीले चिन्तबहादुरलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको थापाले बताउनु भयो ।