वन समिति माथि छानविन


नेपाल समाचारपत्र, भद्रपुर ।
जिल्ला वन कार्यालय झापाले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समिति माथि छानविन गर्ने भएको छ । समितिका केही पदाधिकारीले गोलिया दाउरा भन्दै काठ बिक्री गरेको घटना प्रकरण सार्वजनिक भएलगतै वन कार्यालय झापाले छानविन समिति गठन गरेको हो ।

सेक्टर वन कार्यालय जलथलका प्रमुख कमलदेव चौधरी र निचाझोडा रेञ्जर पोष्टका राजन राईलाई छानविन समितिमा राखिएको वन कार्यालयले जनाएको छ । छानविनको लागी खटिएका राईले समितिलाई लिखित पत्र दिइसकेको बताए । घट्नाको वारेमा समितिले आइतवार सम्ममा प्रतिवेदन छानविन समितिलाई बुझाउने र आफुले सेक्टर वन इन्चार्ज चौधरीलाई बुझाउने उनको भनाई छ ।

प्रमुख जिल्ला वन अधिकृत बोधराज सुवेदीले दिएको जानकारी अनुसार उपभोक्ताको अधिकार बाहिर गएर समितिले बेचेको काठ दाउराको लगत संकलन, बील भौचर र समितिका निर्णय प्रकृया लगायत आवश्यक कागजातको स्थलगत अनुसन्धान गरेर कार्वाही प्रकृया अगाडी बढाउने अधिकार समितिलाई दिएको बताए । गठित समितिलाई यथाशिघ्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न लिखित आदेश दिइसकेको सुवेदीले बताए । छानविनको प्रक्रियामा गलत ठहरीए वन ऐन अनुसार कार्वाही गरिने उनको भनाई छ ।

पछिल्लोपटक घाट गद्दी खाली गर्ने बाहनामा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा भट्टराईको निर्देशनमा सचिव सन्तोष पोखरेलले दाउरा भन्दै गोलिया काठ स्थानीय व्यापारी राजु खड्का, रत्नबहादुर भण्डारी र गणेश भण्डारीलाई प्रति चट्टा २५ हजारका दरले विक्री गरेको खुलेपछि घटनाको खुलासा भएको छ । उपभोक्ताले घटनाको बारेमा थाहा पाएपछिमात्र समितिको क्रियाकलापको वारेमा जानकारी पाएका थिए ।