गोरखा सौरपानीमा सबै दलका कार्यक्रम प्रतिबन्ध


सन्तोष अधिकारी, गोरखा ।

गाउँपालिकाको केन्द्र जनतालाई पाएक पर्ने ठाउँमा नभएको भन्दै सौरपानीबासीले सौरपानीमा सबै दलको कार्यक्रमलाई निषेध गरेका छन् । शुलिकोट गाउँपालिकाको केन्द्र राजनितीक दलहरुले भुगोलको अध्ययन नै नगरी ताकुकोटलाई सिफारिस गरेपछि सौरपानीबासी रुष्ट भएका हुन् । उनीहरुलाई स्वाँरा र बारपाकको पनि साथ छ ।

सौरपानीबासीले स्थानीय यूवाहरु कुलप्रसाद न्यौपाने र दलबहादुर तामाङ्गको संयोजकत्वमा संघर्ष समिती समेत गठन गरेका छन् ।

गत ८ गते नेपाली कांग्रेसले सौरपानीमा स्थानीय निकायको निर्वाचन विशेष कार्यक्रम गर्न लागेकोमा सौरपानीबासीले गर्न दिएनन् । सौरपानीमा कार्यक्रम गर्न नदिएपछि नेपाली कांग्रेसले ताकुकोटमा गएर कार्यक्रम ग¥यो । एमालेले छ गतेको कार्यक्रम गर्नै पाएन । नेकपा माओवादी केन्द्रले भने केहि दिन अघि मात्रै सौरपानी गाविसको फेदीमा रहेको हुँडीखोला फाँटमा कार्यक्रम ग¥यो ।

केन्द्रले बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई ल्याएर कार्यक्रम गरेको थियो । सौरपानी बासीले नारायणकाजी लगायत माओवादी नेता तथा कार्यकर्ताहरुलाई कालो झण्डा देखाएर विरोध जनाए । ‘नारायणकाजी श्रेष्ठ मात्र होइन जुनकुनै पार्टीका जो नेता पनि सौरपानीबासीको माग सम्बोधन नगरी यहाँ कार्यक्रम गर्न आउँछ भने कसैको साथ रहँदैन’ संघर्ष समितीका संयोजक न्यौपानेले भन्नुभयो ‘जिल्लाबाट प्रजिअ, एलडिओ जो आएपनि उहाँहरुलाई पनि जनताले के गर्छन त्यत्ति बेलै थाहा होला ।’