भूकम्पले भत्किएका १ सय ७६ विद्यालयको पुनर्निर्माण शुरू

0
Shares

सन्तोष अधिकारी, गोरखा
२०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पले ध्वस्त गोरखाका सबै विद्यालयको पुनर्निर्माण शुरू भएको छ। नेपाल सरकार र विभिन्न दातृ संघसंस्थाको सहयोगमा १ सय ११ माध्यमिक र ६५ निम्न माध्यमिक विद्यालयको पुनर्निर्माण शुरू भएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताउनुभयो।

‘२०७५ असारभित्र सबै विद्यालयको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ’, सुवेदीले भन्नुभयो– ‘अहिले पनि केही विद्यालयको पुनर्निर्माण धमाधम भइरहेको छ। केहीको सम्झौता भएर काम अघि बढ्ने प्रक्रियामा छन्।

विभिन्न क्षेत्रको स्रोत संकलन गरेर जिल्लाका विद्यालय पुनर्निर्माण गर्ने पक्का गरिएको छ।’ भूकम्पका कारण जिल्लाका ४ सय ४९ वटा विद्यालयमा क्षति पुगेको थियो। प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी हालसम्म ६० विद्यालयको भवन बनिसकेका छन्। ती सबैजसो विद्यालयको भवन गैरसरकारी संस्थाहरूको लगानीमा भएको हो। सरकारी लगानीबाट भने ९९ विद्यालयका भवनहरू बन्न लागेको छ।

सरकारी लगानी र गैरसरकारी निकायले प्रतिबद्धताअनुसार काम गरे चालू आर्थिक वर्षको अन्त्यसम्ममा भूकम्पले क्षति पुगेकामध्ये दुई तिहाइ विद्यालयको भवन बनिसक्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ। नयाँ विद्यालय भवन बालमैत्री र अपांगमैत्री हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ भने भवन बनाउने संस्थाले शौचालय, खानेपानीलगायतका थप पूर्वाधार पनि बनाइदिने भएका छन्। त्यस्तै विद्यालयमा पुस्तकालय, सूचना प्रविधि कक्षा निर्माण हुनेछन्। पुनर्निर्माणलाई प्रभावकारी बनाउन शिक्षा क्षेत्रमा काम गर्न जिल्ला भित्रिएका गैरसरकारी संस्थासहितको शिक्षा सञ्जाल बनाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

बैतडी, (नेस)
बैतडीको पुरचौडी नगरपालिका–१० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार राति गरिएको आगजनीबाट विद्यालयको ५ कोठे भवनको ४ ओटा कोठाहरू जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो।

आगजनीबाट विद्यालय कार्यालयका सबै कागजातहरू पनि जलेर नष्ट भएका छन्। आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी भारत नामको पर्चा छरेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो। गुड भिजन पार्टी भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पदमबहादुर विष्टले विद्यालयमा अनियमितता गरेको, अरू शिक्षकलाई अन्य कार्यमा लगाएको, विद्यालयको पढाइमा ध्यान नदिएकोलगायतका आरोप लगाएको प्रहरीले बताएको छ। घटनाका विषयमा अनुसन्धान शुरू भएको र उक्त घटनामा संलग्नको खोजी कार्य शुरू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।