प्रधानाध्यापक र विद्यालय व्यवस्थापन अध्यक्षविरुद्ध आरोपपत्र दायर


 

काठमाडौँ, १६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, लक्ष्मीपुर ३ भुतहीस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुभनारायण यादव र प्रधानाध्यापक कमलेशकुमार यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्रधानाध्यापक र अध्यक्षले आपसी मिलेमतोमा बिल (बिजक) र भरपाइहरू एकै व्यक्तिबाट लेखी छापसमेत नलगाई बैंकमा रहेको विद्यालयको खाताबाट विद्यालयको रु दुई लाख सन्तान्नब्बे हजार पाँचसय बैसठ्ठी हिनामिना गरेकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

अध्यक्ष शुभनारायण र प्रधानाध्यापक कमलेशकुमारलाई जनही बिगो रू रु दुई लाख सन्तान्नब्बे हजार पाँचसय बैसठ्ठी) असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना सजाय गर्न मागदाबी लिई आज विशेष अदालत काठमाडाँैमा आरोपपत्र दायर गरिएको छ । रासस