चीन भ्रमणअघि प्रमले पूर्वप्रमसँग छलफल गर्ने

0
Shares

काठमाडौँ, ९ चैत । उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्नुहुने भएको छ ।

चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्यले उहाँहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल बिहीबार राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि चिन फिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।

सम्मेलनमा सहभागी हुने विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख तथा प्रतिनिधिसँग बहुपक्षीय एवम् द्विपक्षीय बैठकसमेत हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनुपर्ने विविध विषय आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ । बिहीबार बिहान ९ बजे बालुवाटारमा हुने पूर्वप्रधानमन्त्री र विज्ञको बैठकमार्फत सुझाव लिने कार्यक्रम तय भएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो । रासस