बसाईसराईले होम स्टे प्रभावित

0
Shares

धन बस्नेत,पोखरा

गाँउबाट शहर बसाँई सराई निकै बढी छ । सुविधाको खोजीमा गाँउबाट धेरै सहर छिरेका छन् । गाँउ फर्क अभियान थलाउने महत्वपूर्ण पाटो बनेको होम स्टे प्रभावित हुदैं गएको छ । आय आर्जनको मध्यमपूर्ण माध्यम बनेको होम स्टेको प्रवद्र्धन गर्दै बसाई सराई न्युनिकरण गर्न होमस्टे मार्ट तथा कार्यशाला नै गर्ने पर्यटन बोर्डले तयारी गरेको छ ।

गाँउमा बाझोपन छ । उर्वर भूमि सबै सिजनमा खाली देखिन्छन् । तर अब होम स्टेको माध्यमले अझ प्रभावकारी बनाउने कार्यशाला गर्ने योजना बोर्डले गरेको छ । केवल दुई दिन होमस्टे सम्बन्धी जानकारी दिने लक्ष्य सहितको कार्यशाला गरेर प्रवद्र्धनात्मक काम गरिने बोर्डले जनाएको छ । ‘अब गाँउ फर्काउनुपर्ने अवस्था छ ।’ नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत एवं होमस्टे मार्ट तथा कार्यशालाका संयोजक सुर्य थपलियाले भने—‘होम स्टेलाई अझ प्रभावकारी बनाउने योजनासहित कार्यशाला गर्दै छौं ।’ उनका अनुसार कास्कीमा मात्रै ३७ वटा होमस्टे छन् ।

कार्यशाला विशेष गरी गण्डकी र धौलागिरी अञ्चलका होमस्टेलाई समेटिने छ । गाँउमा युवापुस्ता छैनन् । महिलाहरुले मात्रै बढी होम स्टे सञ्चालन गर्दै आएका छन् । तर विवाह पश्चात महिलाको सहभागिता समेत नहुदाँ पछिल्लो समय ग्रामीण पर्यटनको आधार होम स्टेमा असर पर्दै गएको बोर्डले उल्लेख गरेको छ । यद्यपी होम स्टे मार्फत अब शहर पसेका परिवारलाई गाउँमै फर्काउन सक्ने बातावरण सृजना गर्ने तर्फ कार्यशालाले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

२०६७ सालमा होम स्टे सम्बन्धी कार्यशाला तयार भएपछि पर्यटकीय क्षेत्रमा होम स्टे दर्ता गर्नेको लहर चलेको थियो । बोर्डका अधिकृत थपिलयाका अनुसार गण्डकी र धौलागिरीमा मात्रै ६५ वटा होम स्टे दर्तामा छन् । यही चैत २५ र २६ गते पर्यटन बोर्ड तथा भिटोक कास्कीको सह आयोजनामा नेपाल पर्यटन बोर्ड परिसरमा दुई दिने कार्यशाला गरिने छ । कार्यशालामा विभिन्न पर्यटकीय क्षेत्रका होम स्टेको सहभागिता रहने उनले जनाए । कार्यशालामा केवल आफनो गाँउ ठाँउको परिचय, चिनारीयुक्त ब्रोसर तथा प्याकेजका कार्यक्रम सार्वजनिक गरी प्रवद्र्धन गरिने भिटोक कास्कीका अध्यक्ष तारानाथ पहारीले सुनाए ।

अन्नपुर्ण पदयात्रा क्षेत्रमा सम्भाव्ययुक्त गाँउहरुमा होमस्टे शुरुवात भई विदेशी मात्रै नभई आन्तरिक पर्यटकको समेत आकर्षण बढ्दै गएको छ । कार्यशालाबाट ग्रामीण तथा पर्यापर्यटनको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । मार्टमा सहभागि हुने होम स्टेलाई उत्कृष्ठताको पुरस्कार समेत प्रदान गरिने छ ।