सडेन डेथमा रूपन्देही च्याम्पियन

0
Shares

कुमार श्रेष्ठ, बाँके

एमजी संकटा क्लबलाई सडेन डेथमा हराउँदै अग्नि रूपन्देहीले दोस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बिहीबार भएको फाइनल खेल जित्नुका साथै रूपन्देहीले ट्रफीसहित ५ लाख नगद पनि हात पार्यो। निर्धारित समय र टाइबेकरमा लिएको अग्रता बचाउन नसक्दा संकटा उपाधि विमुख भएको हो। संकटाले २ लाख ५१ हजार नगद प्राप्त गरेको छ।

त्यसो त संकटाले खेलको ६५औं मिनेटमा पेनाल्टी सदुपयोग गरेर अग्रता लिएको थियो। विश्व अधिकारीलाई डी एरियाभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई संकटाका अनील गुरुङले गोल गरेका थिए। त्यसपछि जितका लागि एक मिनेट कुर्न सकेन संकटाले। लक्ष्मण रुचालले ८९औं मिनेटमा बायाँ विंगबाट निकालेको क्रसलाई शिव सुवेदीले गोल गरेपछि रूपन्देहीले खेल बराबरीमा पुर्यायो।

त्यसपछि अतिरिक्त समय नथपेर सीधै टाइबे्रकरमा निर्णयको लागि अगाडि बढेको थियो। सौरव मगरले शुरूमा प्रहार गरेको बल बिममा लागेर फर्किएपछि रूपन्देही दबाबमा परेको थियो। सुशील केसी, कालुदीप कार्की, भूषण सुब्बा र विश्व अधिकारीले गोल गरेपछि संकटा उपाधि जित्न तत्पर भइसकेको थियो। पाँचौं नम्बरमा आएका कप्तान रवि सिलवालले प्रहार गरेको बल आकासिएपछि निर्णय गर्न सडेन डेथमा पुगेको थियो।

संकटाका ओलावाले र राज पौडेलले पेनाल्टीमा गोल गर्न सकेनन्। रूपन्देहीका कालु थापा, उत्तम गुरुङ, गौरव बुढाथोकी, लक्ष्मण रुचाल, अजय थापाले गोल गरेका थिए। अजय विकको प्रहार संकटाका किपर अजय महर्जनले रोकेका थिए। फाइनल खेलको म्यान अफ द म्याच रूपन्देहीका शिव सुवेदी भए। प्रतियोगितामा म्यान अफ द सिरिज रूपन्देहीका अमर डंगोल भए। उनले सुजुकी वाइक पाए।

त्यस्तै, उत्कृष्ट गोलकिपर संकटाका अजय महर्जन, रक्षकमा रूपन्देहीका मुसा, मिडमिल्डरमा रूपन्देहीका गौरव बुढाथोकी, फरवार्डमा संकटाका मार्टिनले ५–५ हजार पुरस्कार पाए। उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गीले पुरस्कार पाए।