१६ वर्षपछि गाउँमा डाक्टर बाजागाजासहित स्वागत

0
Shares

विनोदसिंह विष्ट, बैतडी
बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा १६ वर्षपछि डाक्टर हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि डाक्टर जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर भएका हुन्। २०५६ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक स्थायी दरबन्दी डाक्टर आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मुकेश दयालले बताउनुभयो।

आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आएपछि आफूहरू धेरै खुसी भएको स्थानीय समाजसेवी शंकरदत्त जोशीले बताउनुभयो। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाटले बताउनुभयो। मेलौलीमा डाक्टर आएसँगै स्वास्थ्य बीमाको सेवासमेत शुरू हुने भएको छ। स्वास्थ्य बीमाअन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ। यसैबीच डा. कार्कीलाई स्थानीय बासिन्दाले बाजागाजासाथ स्वागत गरेका छन्। १६ वर्षपछि आफ्नो गाउँमा डाक्टर पुगेपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्त रूपमा स्वागत रहेको हेल्थ असिस्टेन्ट मुकेश दयालले बताउनुभयो।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा डाक्टरको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सरकारसँग धेरैपटक अनुरोध गरेपछि बल्ल डाक्टर आएका छन्।’

स्वास्थ्य बीमाको सेवा गत फागुनबाट जिल्लामा शुरू पनि भइसकेको छ। तर मेलौलीमा डाक्टर नभएका कारण सुचारु नभएको सेवा सुचारु हुने भएको छ। दक्षिण एसियाकै पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि डाक्टर नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेका थिएनन्।