गोरखामा ३० करोड पेन्सन वितरण

0
Shares

सन्तोष अधिकारी, गोरखा
गोरखा सदरमुकामको लक्ष्मी बजारमा रहेको जिल्ला सैनिक बोर्डले आफ्ना सदस्य भूतपूर्व भारतीय सैनिकहरूलाई ३० करोड रुपियाँ पेन्सन वितरण गरेको छ। गोरखा, लमजुङ, चितवन, तनहुँ र धादिङमा रहेका गोरखा भारतीय भूपू सैनिकहरूलाई प्रत्येक ६⁄६ महिना विरतण गर्दै आएको पेसन्न यसपटक पनि वितरण गरिएको गोरखा भारतीय भूपू सैनिक संघका जिल्ला अध्यक्ष क्याप्टेन तेजबहादुर गुरुङले जानकारी दिए। यसपटकको पेन्सन वितरण गत फागुन २९ गतेदेखि शुरू गरिएको हो। फागुन २९ गते ९ करोड, फागुन ३० गते १५ करोड वितरण भएको र चैत १ गते ५ करोड गरी ३० करोड रुपियाँ वितरण गरिएको बताइएको छ। फागुन ३० गतेसम्ममा १ हजार ४ सय जनाले यसपटक सेवा लिने अनुमान पेन्सन बोर्डले गरेको छ।

गोरखा जिल्लामा मात्रै गोरखा भारतीय भूपू सैनिकहरू ११ हजारभन्दा बढी रहेका छन्। त्यसमध्ये पनि ७ हजार मानिसले राजधानीमा रहेको गोरखा भारतीय पेन्सन क्याम्पबाट पेन्सन लिँदै आएका छन् भने बाँकीले गोरखाबाटै पेन्सन लिने गरेका छन्। गोरखामा रहेको क्याम्पबाट मासिक १५ हजार रुपियाँदेखि ७३ हजार रुपियाँसम्म पेन्सन बुझ्ने भारतीय भूपू सेनाहरू रहेका छन्।