लाठीचार्ज, अश्रुग्याँस र हवाइ फायरका बीच एमालेको सभा लाशमाथि राजनीति नगर्न ओलीको चेतावनी

0
Shares

कुमार श्रेष्ठ, बाँके
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चालाई लाशमाथिको राजनीति नगर्न चेतावनी दिनुभएको छ।

मोर्चाको बन्द⁄अवरोधका बीचमा नेपालगन्जमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै ओलीले भन्नुभयो– ‘लाशमाथिको राजनीति बन्द गर्नुस्। यो नटुंगिने यात्रा हो।’ उहाँले मोर्चाले केही वर्षमा जनताका छोराछोरीलाई सडकमा उतारेर १ सय ८१ जनाको हत्या गराएको ओलीको आरोप थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मोर्चालाई अरुको उक्साहटमा राखेर नेपाललाई अहित हुने काममा लाग्नुको साटो देश विकासमा जुट्न सल्लाह दिनुभयो। ‘लोकतन्त्रलाई असफल बनाउने र एमालेलाई जनताको बीचमा जान नदिने गतिविधि एमालेलाई स्वीकार्य हुँदैन’ –ओलीले भन्नुभयो। ओलीले एमालेलाई गोजी हालेर ल्याएको कालो टालो हेर्ने फुर्सद नभएको बताउनुभयो।

रुवान्डासमेत असफल भएको जातजातिको विष रोप्न नेपालमा केही तत्व लागीपरेको र त्यो असफल भएको ओलीको भनाइ थियो। ‘मैले मोर्चाका नेताहरूलाई युपी⁄बिहारका भनेका छैन, तर उनीहरू हप्ता⁄दश दिनमा त्यता गइरहेकै छन्, ओलीले भन्नुभयो, ‘देश विकासमा सिन्को नभाँच्ने अनि आफू या श्रीमतीलाई मन्त्री बनाउन लागी परेकाले जनताका छोराछोरीलाई उचालेर मराइरहेका छन्।’

मधेसी मोर्चाले भत्ता खान र एमालेका विरुद्धमा मत हाल्दा संविधान मान्ने गरेको र अरु बेला विरोध गरिरहेको ओलीको भनाइ थियो।

वरिष्ठ नेता माधवकुमार नेपालले जात–जातिका बीचमा द्वन्द्व सिर्जना गर्नका लागि मोर्चा अघिअघि, माओवादी र कांग्रेस पछिपछि लागेको बताउनुभयो।

उपाध्यक्ष बामदेव गौतमले सीमाको रक्षा गर्दा भारतीय सुरक्षाकर्मीको गोली लागेर मारिएका गोविन्द गौतमको घटनामा भारतले लिखित माफी मागेर एक करोड भारु क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो। ‘भारतलाई खुसी पार्न सरकारले तत्काल शहीद घोषणा, दश लाख क्षतिपूर्ति र ११ तोपको सलामी दिने बताएको छ। यसले हुँदैन, गौतमले भन्नुभयो, भारतले लिखित माफी माग्नुपर्छ। र, एक करोड क्षतिपूर्ति दिनुपर्छ। यो कुरालाई हामी संसद्मा उठाउँछौं।’

एमालेले नेपालगन्जको कारकादोमा जनसभा गरिरहदाँ मोर्चाका नेताले गुनानाचोकमा एउटा यात्रुवाहक बस चलाएका थिए। बर्दियाको राजापुरबाट दाङ जादै गरेको भे १ ख २०४२ नम्बरको बसबाट यात्रु झारेर मोर्चाका कार्यकर्ताले आगो लगाएका थिए। बसका केही सिट जलेका छन्। त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको थियो। सो क्रममा प्रहरीले लाठी चार्ज, सात तेल अश्रुग्याँस र दुई राउण्ड हवाइ फायर गरेको थियो। झडपमा सशस्त्रका ५ र नेपाल प्रहरीका सात जना घाइते भएका छन्। मोर्चाका पनि सात जना कार्यकर्ता घाइते भएका छन्। मोर्चाले नेपालगन्जको त्रिभुवनचोकमा ओलीको पुत्ला दहन गरेका थिए।

एमालेको सभालाई अवरुद्ध गर्नका लागि मोर्चाले बाँके बन्द गर्नुका साथै नाका–नाकामा कार्यकर्ताहरू तैनाथ गरेर स्थानीयलाई रोकेका थिए। त्यसका बाबजुद सभामा ठूलो संख्या जनताको उपस्थिति भएको एमालेका नेताहरूले बताएका छन्। नेपालगन्जमा भने बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।