काठमाडौँ, १ चैत । स्थानीय तहको निर्वाचनका लागि चाहिने जनशक्ति उत्पादन गर्न निर्वाचन आयोगले ‘दुई दिने मतदाता शिक्षा मुख्य प्रशिक्षक प्रशिक्षण’ दिएको छ ।
आयोगमा पहिले काम गरेका कर्मचारी तथा सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयका उपसचिव तथा शाखा अधिकृतस्तरिय ३२ कर्मचारीलाई सो प्रशिक्षण दिएको हो ।
प्रशिक्षण पाएका कर्मचारीले काठमाडौँ, विराटनगर, सिन्धुली, पोखरा, भैरहवा, दाङ, नेपालगन्ज र धनगढी गरी ८ क्षेत्रका १२ समूहलाई मतदाता शिक्षा सम्बन्धी तालिम दिने आयोगले जनाएको छ ।
सो क्षेत्रीय तालिममा प्रत्येक जिल्लाका चारदेखि आठजनालाई तालिम दिने र उक्त तालिम पाएका जिल्लाका प्रशिक्षकले गाउँपालिकाका सचिव, मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वयम्सेवकलाई तालिम दिनेछन् ।
तालिम शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाताले दिएको मत बदर नहोस् भन्ने उद्देश्यका साथ मतदाता शिक्षा दिएको जानकारी दिनुभयो ।
उहाँले मतदान प्रक्रियामा जतिसक्दो धेरै मतदातालाई समेट्नेगरी शिक्षा दिन लागेको बताउनुभयो ।
प्रशिक्षणमा स्थानीय तालिम सम्बन्धी कानुनी व्यवस्था, निर्वाचन कार्यक्रम, जिल्लास्तरीय अनुगमन व्यवस्थापन, उम्मेद्वार मनोनयन प्रक्रिया, स्थानीय तहमा मनोनयन प्रक्रिया, विवाद निरुपण, नमुना मतदान तरिका, अभ्यास र मतगणनालगायतका विषयमा सिकाइने आयोगले जनाएको छ । रासस
प्रतिक्रिया