गुल्मीबाट ५ हजार ३ सय ३७ जनाले एसईई परीक्षा दिँदै

0
Shares

नेपाल समाचारपत्र
गुल्मी
यस वर्ष गुल्मीबाट ५ हजार ३ सय ३७ जना विद्यार्थीले कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा दिँदै छन्। नियममिततर्फ ५ हजार १ सय २ जनाले परीक्षामा सहभागिता जनाउने जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरि ज्ञवालीले जानकारी दिए। एक्जाम्टेडतर्फ १ सय ३१ र आंशिकतर्फ १ सय ४ जनाले परीक्षामा भाग लिने ज्ञवालीले बताए। साथै यस वर्ष प्राविधिक विषयमा अध्ययन हुने जिल्लाका दुईवटा विद्यालयका ४९ जना विद्यार्थीले परीक्षा दिने भएका छन्। सिभिल इन्जिनियरिङ विषयमा अध्ययन हुने जनज्योति मावि रिमुवाबाट २८ र कृषि विज्ञानमा अध्ययन हुने उदय मावि शान्तिपुरबाट २१ जनाले माध्यमिक शिक्षा परीक्षा २०७३ दिँदै छन्।

गत वर्ष गुल्मीबाट कुल ६ हजार ५ सय १ विद्यार्थीले प्रवेशिका परीक्षा दिएका थिए। यस वर्ष ५ हजार ३ सय ३७ विद्यार्थीले माध्यमिक परीक्षा दिने भएका छन्। गत वर्षको तुलनामा यो वर्ष १ हजार १ सय ६४ विद्यार्थी कम रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक रहेको छ। यो वर्ष नियममिततर्फ ५ हजार १ सय २ जनाले परीक्षामा सहभागिता जनाउनेछन्। त्यस्तै एक्जाम्टेड तर्फ १ सय ३१ र आंशिकतर्फ १ सय ४ जनाले परीक्षामा भाग लिने कार्यालयले जनाएको छ।

१ सय १७ विद्यार्थी वञ्चित
यस वर्ष गुल्मीबाट १ सय १७ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा कक्षा–१० दिनबाट वञ्चित भएका छन्। वञ्चित हुनेमध्ये छात्रा ६१ र छात्र ५६ रहेको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले जानकारी दिए। ७५ प्रतिशत हाजिर नपुगेका तथा विभिन्न कारणले विद्यालय छोडेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन्। गत वर्ष ९२ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएका थिए। वञ्चित हुनेमध्ये छात्रा ६० र छात्र ३२ जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

छात्रा सहभागिता बढी
यस वर्ष गुल्मीबाट छात्रभन्दा २ सय ७२ बढी छात्राले माध्यमिक परीक्षा कक्षा–१० मा सहभागिता जनाउने भएका छन्। जसमा छात्र २ हजार ४ सय १५ र छात्रा २ हजार ६ सय ८७ रहेको कार्यालयले जनाएको छ। गत वर्ष नियमिततर्फ छात्रा २ हजार ४ सय ९४ र छात्र २ हजार ३ सय १२ रहेका थिए। आंशिकतर्फका १ हजार ६ सय ४५ जना विद्यार्थीमध्ये छात्रा १ हजार १ सय ४६ र छात्र ४ सय ९९ जनाले परीक्षा दिएको शाखा अधिकृत ज्ञवालीले जानकारी दिए। गत वर्ष पनि छात्रभन्दा ८ सय २९ बढी छात्राले प्रवेशिका परीक्षा दिएका थिए।

२७ वटा परीक्षा केन्द्र
यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा–१० सञ्चालन गर्न जिल्ला विभिन्न स्थान २७ परीक्षा केन्द्र तोकिएको छ। गत वर्ष ३० परीक्षा केन्द्र रहेका थिए। यस वर्ष तीनवटा परीक्षा केन्द्र हटाएर २७ बनाइएको छ। यसपालि सुरक्षाको स्थितिलाई हेरेर प्रहरी चौकी नभएको ठाउँमा परीक्षा केन्द्र नदिएको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताए। गत वर्षभन्दा अहिले केन्द्रहरू पनि परिवर्तन भएका छन्। सम्बन्धित विद्यालयका प्रधानाध्यापक र स्रोत व्यक्तिको इच्छा र मागको आधारमा केन्द्र तोकिएको कार्यालयले जनाएको छ। गत वर्षका आठवटा केन्द्र परिवर्तन गरेर यो वर्ष पाँचवटा केन्द्र नयाँ थपिएको छ।

परीक्षाको सबै तयारी पूरा
जिल्ला शिक्षा कार्यालय गुल्मीले पत्रकार सम्मेलनको आयोजना गरी चैत्र ३ गतेबाट सञ्चालन हुने माध्यमिक परीक्षा कक्षा–१० को तयारी सबै पूरा भएको जनाएको छ। कार्यालयका अनुसार परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेर परीक्षाका लागि आवश्यक सबै सामग्री सम्बन्धित ठाउँसम्म पुर्याइएको छ। सबै केन्द्राध्यक्ष र स्रोत व्यक्तिलाई केन्द्रको १७ र परीक्षा समन्वय समितिले तयार गरेको २७ बुँदे परीक्षा आचारसंहिताको बारेमा जानकारी गराइएको विद्यालय निरीक्षक झविलाल विकले बताए।

परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली पनि तयार गरिएको कार्यालयले जनाएको छ। शिक्षा समितिका पदाधिकारी, परीक्षा समन्वय समितिका पदाधिकारी, शिक्षासँग सम्बन्धित विभिन्न पेसागत संगठन, जिल्ला शिक्षा कार्यालयका कर्मचारी, विद्यालय निरीक्षक, स्रोत व्यक्तिलगायतको अगुगमन टोली बनाइएको कार्यालयले जनाएको छ। साथै आवश्यक परेको खण्डमा मोबाइल टोलीसमेत परिचालन हुने निरीक्षक विकले बताए।