घरेलु मैदानमा नेपाल पराजित



फिरोज राजोपाध्याय, काठमाडौं

ने पालले जित्नै पर्ने थियो यो खेल। वर्षा र चिसोलाई चुनौती दिएर जितको लागि घच्घच्याएका हजारौं नेपाली समर्थकको हौसलाले पनि नेपालले जित हात पार्न पर्याप्त भएन। अर्को घरेलु मैदानमा समेत नेपालले फाइदा उठाउन सकेन। पहिलो त वर्षा नेपालका लागि खलनायक बनिदियो भने दोस्रो नेपालको ब्याटिङ जति चल्नुपर्ने चलेन, तेस्रो नियमित कप्तान पारस खड्का नभइदिँदा नेपाली टोली केही कमजोर भएको देखिएको थियो।

घरेलु मैदानमा गएको वैशाखमा नामिबियालाई दुबै खेलमा हराएकाले कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले जित्न सक्ने आधार पर्याप्त थियो। तर दुर्भाग्यवश शनिबार भएको खेलमा नेपाल केन्यासँग ५ विकेटले हार्नुपर्यो। पटक–पटक वर्षाका कारण खेल रोकिँदैं खेलिँदै चलिरहेको थियो। यसमा केन्या हरेक क्षेत्रमा अब्बलसमेत देखियो। अन्ततः केन्याले २६ ओभरमा ९४ रन बनाउनुपर्ने अन्तिम लक्ष्य पाँच विकेटको क्षतिमा ९८ रन बनाएर भेटाएको थियो।

यो नतिजापछि नेपाल आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ९ खेलपछि पनि ६ अंकमै सीमित भएको छ। केन्या भने दुई अंक थपेर १० अंकमा पुगेको छ। नेपालले केन्यासँग दोस्रो खेल सोमबार खेल्नेछ। जसमा नेपालले जित्नै पर्ने दवाव अझ बढेको छ। यसपछि नेपालले हङकङ र युएईसँग खेल्ने कार्यक्रम रहेको छ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको यो पाँचौ चरणको पहिलो खेल अति नै रोमाञ्चक बनेको थियो। वर्षाका कारण पहिले ५० ओभरको खेल करिब साढे २ घण्टा ढिला शुरु भयो र दुबै पक्षले ३८⁄३८ ओभर खेल्ने निर्धारित गरिएको थियो। टस हारेको नेपाल ३६ ओभरमा ८ विकेटको नोक्सान बेहोरेर १ सय १२ रनमा पुग्दा वर्षाले फेरि बाधा तुल्यायो। पुनः खेल सुचारु हुँदा डकवर्थ लेविसको पद्धतिअनुसार नेपालले केन्यालाई २९ ओभरमा १ सय ४ रन बनाउनुपर्ने लक्ष्य तोकिएको थियो।

केन्याले लक्ष्य पछ्याउने क्रममा २१.२ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाउँदा फेरि हल्का पानी परेर खेलमा बाधा उत्पन्न भयो। केही बेरपछि खेल सञ्चालन हुँदा डकवर्थ लेविस पद्धतिअनुसार केन्याले २६ ओभरमा ९४ रन मात्रै बनाउनुपर्ने सहज लक्ष्य बनेको थियो। जसमा केन्याले बाँकी ४.४ ओभरमा १४ रन बनाए पुग्नेथियो। केन्याका कप्तान राकेब पटेलले २५औं ओभरमा बलिङ गरेका सोमपालको पहिलो बललाई छक्का प्रहार गरिदिएपछि नेपालको बचेको आशा त्यही छक्कासँगै उडेको थियो।

हुन त वसन्त रेग्मीेले एक र सागर पुनले दुई विकेट लिएर केन्यालाई ७ ओभरमा ३⁄२१ को कमजोर स्थितिमा पुर्याउँदा नेपाल खेलमा हावी बन्ने संकेत थियो। तर यस्तो मौका नेपाली टोलीले सदुपयोग गर्न सकेन। केन्याका कोलिन्स ओबुया (२४ रन) र कप्तान पटेल (३४ रनमा नटआउट) ले चौथो विकेटको लागि ४४ रनको साझेदारी गरेपछि नै नेपाली टोलीको हौसला कमजोर बनेको थियो। त्यसो त नियमित कप्तान पारस खड्का आफैं ड्रिक्स लिएर मैदानमा आफ्ना खेलाडीलाई हौसला बढाउन पनि गए। तर केही लागेन।

यसअघि पारस खेल्न असमर्थ भएपछि ज्ञानेन्द्र मल्लले नेपाली टोलीको कप्तानी सम्हालेका थिए। ज्ञानेन्द्रसँग राष्ट्रिय टोलीमा डेब्यु गरेका सुनील धमलाले पनि केही छाप छाड्न सकेनन्। उनी ३ रनमै पवेलियन फर्केका थिए। यसपछि ज्ञानेन्द्र ४ चौका प्रहार गरेर व्यक्तिगत २७ रनमा आउट भएका थिए। उनी नै टोलीका लागि सर्वाधिक रन बनाउने ब्याटसम्यान सावित भए।

यसपछि एक इन्डमा ब्याटसम्यान जम्न कोसिस गरिरहे भने एक इन्डमा राष्ट्रिय टोलीमा डेब्यु गरेका दीपेन्द्रसिंह ऐरी बलियो बनिरहेका थिए। उनले केही राम्रा सट पनि प्रहार गरेर राष्ट्रिय टोलीमा उनको आवश्यक भएको स्पष्ट देखाइरहे। उनी अन्ततः केन्याको कसिकसाउ बलिङमा धेरै खेल्न पनि सकेनन् र १९ रनमा पवेलियन फर्के। पछि सोमपाल कामीले १५ रन र शक्ति गौचनले १८ रन जोडेर नेपाललाई ८२⁄८ बाट ३० रनको साझेदारी गरेर सम्मानजनक स्थितिमा पुर्याएका थिए।

अन्य भरोसेमन्द ब्याटसम्यानले भने निरास तुल्याएका थिए। सागर पुनले १० रन बनाएका थिए। त्यसपछि क्रिजमा २०१४ मा भएको विश्वकप टी २० मा केन्याविरुद्ध सानदार ब्याटिङ गरेका सरद भेषवाकर आउँदा सबैको ज्यादै आशा थियो। तर उनी आफ्नै घरेलु मैदानमा खराब ब्याटिङ गर्न विवस बने। उनले ३ रन मात्रै योगदान दिए। लामो समयपछि राष्ट्रिय टोलीमा फर्केका मेहबुब आलम पनि २ रनमै सरदको पथ पछ्याए। वसन्त रेग्मी ६ रनमा आउट भएका थिए। बलिङतर्फ केन्याका सेम नगोचेले १८ रन दिएर तीन विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्