संवैधानिक अदालतको आदेशबाट दक्षिण कोरियाली राष्ट्रपति पदमुक्त


सोल,(एजेन्सी)
दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइएका राष्ट्रपति पाक गेयुन ह्येलाई संवैधानिक अदालतको आदेश अनुसार शुक्रबार पदमुक्त गरिएको छ ।

उनलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुको संयुक्त इजलाशले सर्वसम्मत रूपमा गरेकोे हो । इजलाशको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुंगमीले सुनाएको फैसला संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रचलित कानुन अनुसार अदालतको यो फैसला तत्काल कार्यान्वयन हुने बताइएको हो । अव पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नु पर्नेछ । अब राष्ट्रपतिको अधिकार सवै नयाँराष्ट्रपतिमा सरेको छ ।

उनी अदालतको आदेशबाट पदमुक्त हुने कोरियाको एक मात्र राष्ट्रपति हुन् । दक्षिण कोरियाको राजनीतिक इतिहासमा अहिले सम्म महाअभियोग लाग्ने यिनी दोश्रो राष्ट्रपति हुन् ।

यसअघि सन् २००४ मा तत्कालिन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनको बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरुलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो । तर उनलाई भने झण्डै दुई महिनापछि संवैधानिक अदालतले माफी दिएको थियो । उनको कामबाट निर्वाचन कानुन उल्लंघन भएको देखिएपनि महाअभियोग नै लगाउनु पर्ने खालको नभएको फैसला अदालतले गरेकोे थियो ।

राष्ट्रपति पार्कलाई आफ्नो एक निकतटम मित्र चोइ सुन सिललाई आफ्नो हैसियत प्रयोग गरी आर्थिक लाभ लिनका लागि आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो । चोइले आफुले संचालन गर्दै आएका दुईवटा गैर आयमुलक संस्थाका लागि राजनीतिक फाइदा दिने नाममा सामुसुंग लगायत अन्य कम्पनीबाट लाखौं अमेरिकी डलर लिएको आरोप लगाइएको थियो ।

गत बर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो ।
सन् २०१६ को डिसेम्वरमा कोरियाली संसदले पार्क विरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाई मतमार्फत अनुमोदनगरेको थियो । यसपछि पार्कका वकील पार्कमाथि शक्तिको दुरुपयोग गरेको भनी लगाइएको आरोप गलत र महाभियोग लगाउनु अन्यायपूर्ण भएको भन्दै अदालतमा पुगेका थिए । महाभियोग पास भएपछिका ९२ दिनवीचमा पार्कमाथिको मुद्दामा जम्मा २० वटा सुनुवाई भएका थिए ।