हत्याको विरोधमा दिनभरी प्रदर्शन


मृतकलाई शहीद घोषणा र मृतकका परिवारलाई १० लाख रुपियाँ दिने सरकारको घोषणा

हेमन्त पौडेल, कैलाली

ञ्चनपुरको पुनर्वास नगरपालिका ८ आनन्द बजारका गोविन्द गौतमलाई विहीवार मध्यान्न भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरेको विरोधमा आनन्द बजार लागायत कैलाली कञ्चनपुरका विभिन्न ठाउँहरूमा शुक्रबार दिनभरी प्रदर्शन गरिएको छ। कञ्चनपुरको आनन्द बजार नजिक निर्माण गर्न लागेको कल्भर्टको विषयलाई लिएर विवाद बढेपछि विहीवार मध्यान्न भारतीय सुरक्षाकर्मीले गोली हानेर गौतमको हत्या गरेको थियो।

नेपाली भूमिमा आएर भारतीय सुरक्षाकर्मीले गरेको हत्याको विरोधमा शुक्रवार आनन्द बजार लागायतका क्षेत्रहरू दिनभरी तनावग्रस्त अवस्थामा रहे। आनन्द बजारमा शुक्रवार विहानैदेखि स्थानीय बासिन्दाहरू जम्मा भएर विरोध जनाईरहेका थिए। भारतीय राजदुतावासले विज्ञप्ती निकालेर भारतीय सुरक्षाकर्मीले गोली नचलाएको बताएपछि स्थानीय बासिन्दाहरू झन आक्रोशित भएकाछन्। भारतको सम्पूर्णानगर कोतवालीका ठानेदार आर.के मोरलले चलाएको गोलीले गौतमको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन्। आफ्नै आँखाले देख्ने गरेर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा समेत भारतीयले गोली नचलाएको भन्दा आफूहरू दुःखी भएकाले त्यसको प्रतिरोधमा उत्रिएको स्थानीय बासिन्दाहरू बताउँछन्।

नेपाली भूमिमा आएर गोली चलाएर हत्या गर्ने अनि जिम्मेवारीबाट पन्छिन खोजेपछि शुक्रवार विहानै देखि स्थानीय बासिन्दाहरू आनन्द बजार पुगेर विरोध गरेका हुन। करिब ४ हजारको संख्यामा उपस्थित स्थानीयहरूले गोलीकाण्डको विरोध गरेका छन्। गौतमलाई गोली हान्नेलाई कार्वाही गर्नुपर्ने माग राख्दै शुक्रवार साँझ अबेरसम्म आनन्द बजारमा स्थानीयहरूले नाराबाजी गरेकाछन्। प्रदर्शनमा महिला,केटाकेटी तथा बुढाबुढीहरूको समेत सहभागिता रहेको स्थानीय बासिन्दा बासु घिमिरेले जानकारी दिनुभयो। सीमामा जम्मा भएका नेपालीहरूलाई तितरबितर गर्न भारतीय सुरक्षाकर्मीले दुई दर्जन भन्दा बढी हवाईफायर र दर्जनौ अश्रुग्यासका सेलहरू छोडेको थियो। हवाई फायर र अश्रुग्यासको पर्वाह नगरि नेपालीले सीमामा प्रदर्शन गरेका थिए।

थप क्षति नहोस भन्दै नेपाली प्रशासनले घटनास्थालतर्फ जान रोकेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाहरूलाई सम्झाई बुझाई रोक्न खोजेपनि आक्रोशीत भीड भने भारतीय सुरक्षाकर्मीतर्फ बढ्ने प्रयास गरेको थियो। अश्रुग्यास र हवाईफायरको मतलब नगरेर अघि बढेपछि अवस्था निकै जठील बनेको थियो तर स्थानीय प्रशासनको अग्रसरताले ठूलो क्षति हुनबाट भने बचेको स्थानीय सञ्चारकर्मीहरू बताउँछन्।
पुनर्वास नगरपालिकाका विभिन्न गाउँबाट स्थानीय बासिन्दाहरू जम्मा भएर भारतविरुद्ध चर्को नाराबाजी गरेका थिए।

यस्तै विभिन्न राजनीतिक पार्टीका भ्रातृसंगठनहरूले कैलालीको धनगढी, सुखड, राजीपुरलगायतका ठाउँमा प्रदर्शन गरेका छन्। शुक्रबार बिहान कैलालीको सदरमुकाम धनगढीमा प्रदर्शन गरिएको थियो। भारतीय सुरक्षाकर्मीले गरेको गोलीकाण्डको चर्को विरोध गर्दै गौरीफण्टा नाकामा पुगेर नेपालीले नाराबाजी गरेका थिए। नेपाली सुरक्षाकर्मीले रोक्दारोक्दै पनि कैलाली भन्सारको गेट तोडेर प्रदर्शनकारीहरू दशगजा क्षेत्रमा पुगेर भारतले गरेको ज्यादतीविरुद्धमा नाराजुलुस गरेका थिए।

दुवै पक्षका सुरक्षाकर्मीहरूको संयमताका कारण अप्रिय घटना भने हुन पाएन। अप्रिय घटना नहोस् भन्दै निकै सतर्कता अपनाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो। सीमा क्षेत्रमा थप घटना नहोस् भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको पहलमा भारतको लखिमपुर खिरीका डीएम आकाश दीपलाई गौरीफण्टा बोलाएर बैठक गरिएको थियो।

नेपाल र भारतका अधिकारीहरूबीच सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने र घटनाको छानबिन गर्ने सहमति भएको कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो। नेपाली नागरिक मारिएपछि भएको समस्या समाधानका लागि केन्द्रीयस्तरबाटै पहल गर्ने सहमति पनि भएको छ। यसै गरी भारतीय डीएम आकाश दीपले दुवै देशमा शान्ति व्यवस्था कायम गर्न जोड दिइने बताउनुभयो।

वार्तामा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल प्रहरीका एसपी अर्जुन चन्द, सशस्त्र प्रहरीका एसपी गणेश संग्रौला र अनुसन्धान विभागका एसपी योगेन्द्र केसी सहभागी हुनुहुन्थ्यो। भारतीयतर्फबाट लखिमपुर खिरी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट आकाश दीप, भारतीय एसएसबीका कमान्डेट वीरेन्द्र सिंह सिन्धु र पलियाका भारतीय प्रहरी एसपी मनोजकुमार झा सहभागी थिए।

सरकारले मृतक गोविन्द गौतमलाई शहीद घोषणा गर्ने, परिवारलाई १० लाख रुपियाँ दिने, उनका बच्चाहरूलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, उच्च सम्मानका साथ अन्त्येष्टि गर्ने, परिवारका एक जनालाई रोजगारको व्यवस्था मिलाउने घोषणा गरेसँगै नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेश बन्दलगायतका सबै कार्यक्रम फिर्ता लिएको छ।

बिहीबार भएको घटनाको नेकपा एमालेका उपाध्यक्ष एवम् सात नम्बर प्रदेश संयोजक भीम रावलले भारतीय सुरक्षाकर्मीले गरेको ज्यादती निन्दनीय भएको प्रतिक्रिया दिनुभएको छ। बिहीबार कञ्चनपुरको आनन्दबजारमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीको गोली लागेर पुनर्वासका नेपाली युवा गोविन्द गौतमको मृत्यु हुनु अत्यन्त दुःखद भएको उल्लेख गर्दै उपाध्यक्ष रावलले घटनाको भत्र्सना गर्नुभएको छ। भारतीय सुरक्षा बलले नेपाली भूमिमा आएर नेपालीकै हत्या गर्नु नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधीनतामाथिको हमला भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत रावलले भारत सरकारसँग वार्ता गरेर सीमाका नेपालीको रक्षा गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ।

बिहीबार आनन्दबजारमा भएको घटनाको सर्वत्र विरोध भएपछि भारत सरकारले घटनाको छानबिन गर्ने बताएको छ। हत्या गरिएका गौतमको पोस्टमार्टम रिपोर्ट भारतीय सीमा सुरक्षा बललाई उपलब्ध गराउन भारतीय दूतावासका अधिकारीले नेपाल सरकारसँग आग्रह गरेका छन्। कञ्चनपुरको गोलीकाण्डबारे एसएसबीले छानबिन तथा अनुसन्धान गर्ने भन्दै त्यसमा सहयोगका लागि पोस्टमार्टम तथा फरेन्सिक रिपोर्ट कूटनीतिक माध्यमबाट उपलब्ध गराइदिन भारतले नेपालसँग आग्रह गरेको हो। तर गौतमको शुक्रबार साँझसम्म पोस्टमार्टम भएको छैन।