राप्रपा केन्द्रीय समिति बैठक निर्वाचनमा सहभागी हुने


काठमाडौं, (नेस)
मुलुकमा चौथो राजनीतिक शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले घोषणा गरेको स्थानीय निर्वाचनलाई स्वागत गर्दै निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने निर्णय गरेको छ। साथै राप्रपाले नेता तथा कार्यकर्ताहरूलाई आआफ्नो क्षेत्रमा स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन पनि दिएको छ।

एकता महाधिवेशनपछि पहिलोपटक बुधबार बसेको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीले विगत केही वर्षदेखि स्थानीय निर्वाचनको माग राखेर निरन्तर सडक संघर्ष गरेको स्मरण गर्दै राप्रपाले अहिले यो माग पूरा भएको भन्दै स्थानीय निर्वाचनलाई रचनात्मक सहयोग गर्ने पनि जनाएको छ।

साथै निर्वाचनमा व्यापक जनसहभागिता कायम गर्न र सर्वस्वीकार्य निर्वाचन बनाउन पनि सरकारलाई आग्रह गरेको छ। राप्रपाले मधेस केन्द्रित दलको जायज मागलाई सम्बोधन गरी उनीहरूलाई समेत विश्वासमा लिएर निर्वाचनमा सहभागी हुने स्थिति सृजना गर्न पनि सरकारसँग माग गरेको छ।

राप्रपाले नयाँ संरचनाअनुसार पार्टीको संगठन विस्तार र स्थानीय निर्वाचनमा उम्मेदवार तय गर्नेबारे समिति पनि गठन गरेको छ।

केन्द्रीय सदस्य राजाराम श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार नयाँ संरचनाअनुसार पार्टीको संगठन विस्तारका लागि सल्लाह सुझाव दिन केन्द्रीय सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्यहरू भुवनकुमार श्रेष्ठ, राजाराम श्रेष्ठ, धनबहादुर बुढा र तोरणबहादुर गुरुङ सदस्य छन्।
केन्द्रीय बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी विस्तृत कार्ययोजना तय गर्न केन्द्रीय सदस्य ध्रुवबहादुर प्रधानको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलले स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारको मापदण्डसमेत तय गर्नेछ। यो कार्यदलमा केन्द्रीय सदस्यहरू सुशीलकुमार श्रेष्ठ, रोशन कार्की, हेमजंग गुरुङ, सगुनसुन्दर लावती, चन्देश्वरप्रसाद यादव र नवोदिता चौधरी सदस्य रहेका छन्।