प्रशान्त वली, काठमाडौं
रसुवा चोरगाउँ–८ सिम्ले घर भएका २८ वर्षीय सुवास तामाङ आजभन्दा ३ वर्षअघि त्रिशूलीमा सवारी दुर्घटनामा परी घाइते भए। उनको खुट्टा भाँचियो र करङमा पनि चोट लाग्यो। एउटा घाउ निको नहुँदै विस्तारै अर्को घाउले सुवासलाई चेप्दै लगेको छ। दुर्घटना हुँदा चोट लागेकोलाई निको पार्न औषधि गरे तर औषधिको साइडइफेक्टका कारण उनको मृगौलामा असर पर्यो। चेक जाँच गर्दा दुईवटै मृगौला फेल भएको देखियो।
अहिले तामाङको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ। तामाङ भन्छन्– ‘अहिलेसम्म १ सय ४० चोटी डायलोसिस गरिसकें। अझै सञ्चो हुने निश्चित छैन। शुरूमा काठमाडौं मेडिकल कलेजमा डायलोसिस गरेको हुँ। अहिलेसम्म १५ लाख रुपियाँ खर्च भइसकेको छ।
उनी पूर्णतः निको हुन कि त मृगौला फेर्नुपर्छ कि डायलोसिस गरिरहनुपर्छ। नेपालमा उपचार सम्भव भए मृगौला फेर्न मात्रै १० लाख रुपियाँ र भारत गए २५ लाख रुपियाँसम्म खर्च हुने सल्लाह पाएको सुवासले नेपाल समाचारपत्रसँग भने। उनी भन्छन्– ‘पहिले केही समय विदेश बसेको थिएँ। र, मसँग एउटा गाडी पनि थियो। त्यही पैसाले जोहो गरिरहेको थिएँ। अब विदेशमा कमाएको पैसा पनि सकियो। गाडी पनि बेचें। सहयोग गर्न चाहनुहुन्छ भने पत्नी फूलमाया तमाङको नाममा काठमाडौंको बालाजुस्थित जनता बैंक लिमिटेडमा रहेको खाता नम्बर ०१६१०७०१५०२९७०१ मा जो–कोहीले सहयोग गर्न सक्नुहुन्छ।
सल्यान त्रिवेणीकी ४५ वर्षीया ईश्वरी विकले पनि आफ्नो मृगौला फेल होला भनेर जीवनमा कहिल्यै पनि सोचेकी थिइनन्। तर, भयो त्यस्तै। उच्च रक्तचापका कारण उनको दुवै मृगौलाले काम गर्न छोडे। ईश्वरीको अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै मृगौला गुमाएकी ईश्वरीलाई बाँच्न मृगौला फेर्नुपर्छ।
तर, विडम्बना गरिबीले उनलाई रुवाएको छ। बाँच्ने आधार पाउन अहिले उनको परिवार आर्थिक जोहोमा लागेको छ। डायलोसिस गरिरहेकी ईश्वरीलाई अहिले दैनिक ४ हजार रुपियाँ बराबरको औषधि खुवाउनुपर्ने हुन्छ।
तर, उनलाई मृगौला दिन कोही तयार छैनन्। दुवै मृगौला काम नलाग्ने हँुदा पति डिल्लीलाई पीडाले थलाएको छ। डिल्लीले भने– ‘आफ्नो मृगौला दिने हो भने पनि समूह मिल्दैन, अरू कसलाई मृगौला दिन लगाउने। माइतीतिरका पनि कोही छैनन्। यस्तो अवस्थामा मैले उनको मृत्यु पर्खेर बस्नुबाहेक विकल्प रहेन।
कोही मृगौला सहयोग दाता भए जसरी पनि पत्नीलाई बचाउन सक्ने पति डिल्लीको झिनो आशा छ। त्यसका लागि सहयोगी दाता भए सम्पर्क गर्न अपील गरेका छन्। मृगौला दान गर्ने कोही नहँुदा समस्या परेका उनलाई आर्थिक अवस्थाले पनि त्यतिकै सताएको छ। त्रिवेणी गाविसले दिएको सिफारिस साथमा लिएर पति अहिले विभिन्न सहयोगदाता कहाँ पुग्ने गरेका छन्। अहिलेसम्म डिल्लीले पत्निको उपचारका लागि करिब १३ लाख रुपियाँ खर्च गरी सकेका छन्।
रगतका लागि भन्दै अहिले दैनिक साँझ र बिहान गरी झन्डै ४ हजार रुपियाँबराबर रकम खर्च हुने गरेको छ। अहिले डिल्लीको परिवार उपचार खर्च जुटाउन विभिन्न संघसंस्था गुहारिरहेको छ। एक छोरा, पति र पत्नी भएको परिवारमा अहिले बिरामी पर्दा हेरचाह गरिदिने कोही नहुँदा उनी लामो समय आर्थिक संकलनमा खटिन पनि समस्या भएको छ।
बिरामीलाई हेरचाह गर्ने कोही नभएकाले आफैं बिरामीलाई खाना खुवाउने आफैं हेरचाह गर्ने र आफैं आर्थिक संकलनका लागि बजार घुम्नुपर्ने अवस्था रहेको डिल्ली बताउँछन्। गाविस कार्यालयले सिफारिस गर्दा सरकारी कार्यालयबाट सहयोग पाउने भनी नखुलाइदिँदा कुनै पनि सरकारी कार्यालयले आर्थिक सहयोग नगरेको बताइएको छ। डिल्लीले भन्नुभयो– ‘सहयोगका लागि ईश्वरी विकको नाममा लक्ष्मी विकास बैंक तुलसीपुर शाखामा रहेको खाता नम्बर ०१४००६०००६६९९३०००००१ र ९८१६५५४००८ मा फोन सम्पर्क पनि गर्न सकिन्छ। सबैले सहयोगको हात फैलाइदिन अनुरोध गर्दछु ।
हाल नेपालमा करिब ३० हजार मृगौलाका समस्या भएका बिरामी रहेको र वार्षिक ३ हजारका दरले बिरामीहरू मृगौलासम्बन्धी समस्या लिएर अस्पताल आउने गरेको मानव अंग प्रत्यारोपण केन्द्रको तथ्यांकमा उल्लेख छ। थुपै्र बिरामीहरू आर्थिक अभावमा उपचार गर्न नसकेर छटपटाइरहेको बेला नेपाल सरकारका उच्च पदस्थहरूले उपचार खर्चको नाममा ब्रह्मलुट मच्चाइरहेका छन्। विगत ६ महिनाको अवधीमा २ करोड ५० लाख ५३ हजार रुपियाँ अर्थ मन्त्रालयले स्वास्थ्य उपचारका नाममा विभिन्न व्यक्तिलाई उपलब्ध गराएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालासहितका उच्च पदस्थहरूलाई राज्यकोषबाट उपचार खर्च व्यहोरिएको थियो।
विपन्न वर्गका ज्यानै जाने गरी बिरामी भएकाहरूलाई राज्यले सेवा दिन नसकेको बारेमा जिज्ञासा राख्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्रप्रसाद डोटेलले भन्नुभयो— ‘बिरामीहरूका लागि केही निश्चित कोटा छुट्याइएको हुन्छ। त्यो कोटामा पर्न सके गाविस वा जिल्लास्थित स्वास्थ्य कार्यालयको सिफारिसका आधारमा छुट हुन्छ। यद्यपि सबै विपन्न परिवारलाई स्वास्थ्यमा निःशुल्क व्यवस्था भएको छैन। तर त्यस खालको कोटा पाउने कुरा भनेको पहुँचको आधारमा मात्रै हो भन्दा अतिशयोक्ति हुँदैन। सरकारले ७० प्रकारका औषधिहरू निशुल्क वितरण गरिरहेको मन्त्रालयका प्रवक्ता डोटेलले बताउनुभयो। कागजमा यसो भनिए पनि व्यवहारमा भने त्यसो हुन सकेको छैन।
स्वास्थ्यमन्त्री गगन थापा र उहाँका निकटस्थहरूले स्वास्थ्य क्षेत्रमा केके न गरें भनेर चर्चा गरिरहेको अवस्थामा राजधानीदेखि उपत्यका बाहिरका अस्पतालहरूमा बिरामीहरूको अवस्था र स्वास्थ्य संस्थाहरूले उपलब्ध गराएको सेवा हेर्दा आश्चर्य मान्नुपर्ने अवस्था रहेको छ। मृगौला रोगीका एक आफन्तले भने– ‘यी मन्त्रीले केही गर्लान् कि भन्ने आशा गरिएको थियो। तर, यी पनि अर्का कान चिरेका जोगीबाहेक केही पनि रहेनन्। गरिबीका कारण थुप्रै मृत्यु पर्खेर बसेका छन् सरकार रमिते भएर बसेको अवस्था छ। उच्च ओहोदामा बसेकालाई सिंगान आए पनि उपचार खर्च पाउने तर गरिबीमा रहेकाहरू भने भयानक रोगको उपचार खर्च नपाएर मृत्यु कुर्न बाध्य हुँदा सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ भनेर कसरी भन्ने ? पीडितहरूको प्रश्न रहेको छ।
प्रतिक्रिया