मदिराभन्दा चिनीको मूल्यवृद्धि बढी



नेपाल समाचारपत्र
काठमाडौं
उपभोक्ता मुद्रास्फीति पहाडमा ५ दशमलब ७ प्रतिशत, हिमालमा ४ दशमलब २ प्रतिशत, तराईमा २ दशमलब ८ प्रतिशत र काठमाडौं उपत्यकामा १ दशमलब ९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२ दशमलब १ प्रतिशत, हिमालमा १० प्रतिशत, तराईमा १० दशमलब ७ प्रतिशत र काठमाडौं उपत्यकामा १३ दशमलब ८ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार खाद्य मुद्रास्फीति शून्य दशमलब ७ प्रतिशतले ऋणात्मक रहेको छ। पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति गत वर्षको पुस महिनाको १२ दशमलब १ प्रतिशतको उच्च बिन्दुबाट ३ दशमलब २ प्रतिशतमा ओर्लेको छ। गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सुधार र भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएको कारण पछिल्ला महिनामा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै आएको छ।

अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १५ दशमलब २ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको घ्यू तथा तेलको मूल्यमा १३ दशमलब ९ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६ दशमलब ६ प्रतिशत, तरकारीको मूल्यमा ३ दशमलब ९ प्रतिशत, फलफूलको मूल्यमा २ प्रतिशत, मासु तथा माछाको मूल्यमा १ दशमलब ७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १ दशमलब २ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो। समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११ दशमलब २ प्रतिशतले वृद्धि भएको छ।
गैरखाद्य मुद्रास्फीति ६ दशमलब २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ९ दशमलब ७ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षालगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम रहन गएको हो।

उता पुस महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलब २ प्रतिशत रहेकोमा नेपालको मुद्रास्फीति पनि ३ दशमलब २ प्रतिशत नै रहेको छ। समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शून्य रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः १२ दशमलब १ प्रतिशत र ५ दशमलब ७ प्रतिशत रहेकाले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६ दशमलब ४ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १ दशमलब ८ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलब ६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकांक २ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ४ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुको मूल्य सूचकांक शून्य दशमलब ८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुको मूल्य सूचकांक १२ दशमलब २ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ६ दशमलब ४ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुको मूल्य सूचकांक १ दशमलब ३ प्रतिशतले घटेको थियो।

प्रतिक्रिया दिनुहोस्