सुन तस्करीमा कडाइको अभाव



ज्ञानमणि नेपाल कालोटोपी

बहुमूल्य पहेँलोधातु सुन अहिलेसम्म नेपालमा उत्पादन भएको छैन। यसका लागि नेपालले बाहिरी मुलुकको भर पर्नुपरेको छ र खरिदका लागि अर्बौं रुपैयाँ विदेश पठाउनु हाम्रो बाध्यता हो। पछिल्लो एक तथ्यांकअनुसार नेपालमा वर्षेनी करिव २० अर्ब रुपैयाँभन्दा धेरैको सुन खरिद गरिने गरिएको छ। अहिले दैनिक २० केजी सुन खपत हुन्छ। तर विगतको भन्दा यो झण्डै एकतिहाईले कमी हो। सुनको मुल्यमा उतारचढाव भए पनि यसमा लगानी गर्नेहरूको भने कमी छैन। पछिल्ला दिनहरूमा नेपाली बजारमा भन्सार छलेर ल्याइएको सुन विक्रि वितरण हुन थालेको र यसले गर्दा बैंकहरूले खरिद गरेर ल्याएको सुनको परिमाण धेरै मात्रामा थन्किएको छ। २ वर्षअघिसम्म दैनिक ३५ केजीसम्म सुनको खपत हुने गरेको र अहिले घटेर २० केजीमा झर्नुको मुख्य कारण नै अवैध सुनको आयात भएको पाइए पनि यसको नियन्त्रण भने हुन सकेको छैन। अहिले पनि अबैध बाटो हुँदै सुन भित्रिएको छ।

गत ५ वर्षयता नेपालमा बैधानिक रुपमा भित्रिएको सुनको मुल्य ९९ अर्ब १४ करोड रुपैयाँ रहेको छ। तर अवैध रुपमा कति सुन भित्रीयो त्यो कसैलाई पनि थाहा छैन। आर्थिक वर्ष ०६८⁄०६९ मा २५ अर्ब ७७ करोड मुल्य बराबरको सुन वैधानिकरुपमा भित्रिएको थियो। त्यस्तै ०६९⁄०७० मा २६ अर्ब ११ करोड र ०७०⁄०७१ मा २४ अर्ब ७९ करोड मुल्यको सुन भित्रियो। ०७१⁄०७२ मा भूकम्पका कारण खासै सुनको आयात हुन सकेन। यसवर्ष ६ अर्ब ३८ करोड मुल्य बराबरको मात्र सुन आयात गरिएको थियो भने गत आर्थिक वर्ष ०७२⁄०७३ मा पनि भूकम्प र नाकाबन्दीका कारण पहिलेजस्तो सुन आयात भएन। यो वर्ष १६ अर्ब ७ करोड रुपैयाँ बराबरको मात्र सुन आयात भएको तथ्यांकले देखाउँछ।
यो समय अवधिमा नेपालमा अवैध बाटो हुँदै सुनको आयात पनि उच्च भएको हुन सक्ने अनुमान गरिएको छ। बेला बेलामा तस्करीको सुन बरामद भएका खबर आएसँगै यस्तो सुन बजार भित्रीएको अनुमान गरिएको हो। अर्को एक तथ्यांक अनुशार वर्ष ०६९⁄०७० मा ८३ केजी, ०७०⁄०७१ मा ९० केजी, ०७१⁄०७२ मा १११ केजी र ०७२⁄०७३ मा ९४ केजी अबैध सुन बरामद भएको थियो।

बरामद भएको सुन धेरैजसो चीनसँग सम्पर्क जोड्ने प्रमुखनाका तातोपानी हुँदै भित्रीएको पाइएको छ। विगतमा तस्करहरूले चीनको खासाबाट भित्रने विभिन्न सामान र कपडाहरूमा लुकाएर नेपाल ल्याउने गरेको सुन प्रहरीले विभिन्न स्थानबाट बरामद गर्ने क्रमसँगै तातोपानी सुन तस्करहरूको ट्रान्जिट प्वाइन्टको रुपमा चिनिदै आएको थियो। ०७१ मंसिरदेखि माघसम्म मात्र झण्डै ४५ किलोग्रामभन्दा वढी अवैध सुन बरामद भयो। त्यस नाकाबाट ०७१ माघसम्म करिव २ सय किलो सुन अवैधरुपमा नेपाल ल्याईंदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। ०७१ पछि अहिलेसम्म थप २ सय केजी सुन बरामद भएको भए पनि पछिल्लो १ वष यता त्यस मार्गमा यस्तो सुन भेटिएको छैन।

तातोपानीमा मात्र होइन, पछिल्ला दिनहरूमा त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलबाट पनि सुन तस्करी हुने क्रम वढेको छ। यहाँबाट गतवर्ष माघ २१ गते १२ केजी सुन बरामद गरिएको थियो। गएको पुस २२ गते ३३ केजी अवैध सुन बरामद भएपछि अहिले सबैको चासोको विषय बनेकै बेला माघ १ गते पनि राजधानीबाटै १५ केजी अवैध सुन बरामद भएको थियो। यसअघि पुस १३ गते कलंकीबाट पनि ७ केजी अवैध सुन बरामद भएको थियो। गएको मंशिर १८ गते पनि बौद्धबाट प्रहरीले १० केजी यस्तो अबैध सुन बरामद गर्यो। अनुसन्धानको क्रममा कतिपय गिरोहहरूले वार्षिक ३५० केजी भन्दा वढी सुन आफूहरूले तस्करी गरेको समेत स्विकार गरिसकेका छन्। यो विषय अहिले प्रहरीका लागि निकै चुनौतीको रुपमा उभिएको छ।

अहिले सुन आयातमा सरकारले कडाई गरेको छ। यसमा लाग्दै आएको भन्सारमा पनि वृद्धि गरिएको छ। वैदेशिक रोजगारीमा जानेहरूले विगतमा विना भन्सार ५० ग्राम सम्मको सुन ल्याउन पाउने गरेको भएपनि गतवर्षदेखि १० ग्रामभन्दा धेरै ल्याउन प्रतिबन्ध छ। तैपनि वैधानिक सुनको खपत नबढ्नुले अझै पनि अवैध सुनले बजार पाइरहेको प्रस्ट देखिन्छ। अहिलेको सन्दर्भमा सुनमा बढेको तस्करीलाई कडाइ गर्न नसक्ने हो भने यसले देशको अर्थतन्त्रलाई नै धराशायी बनाउने
निश्चित छ।

प्रतिक्रिया दिनुहोस्