बलात्कारपछि बालिकाको विभत्स हत्या


सीताराम चौधरी, चन्द्रौटा
जिल्लाको शिवराज नगरपालिका–१० प्रगतिटोल ‘बी’ बस्ने शोभाखर अधिकारीकी ६ वर्षे छोरी सीता अधिकारी मृत अवस्थामा फेला परेकी छन्। उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

घरदेखि ५ सय मिटर उत्तर पर्ने जबई खोलामा तैरिरहेको अवस्थामा मंगलबार बिहान करिब साढे ६ बजेतिर खोज्ने क्रममा स्थानीयले बालिकाको शव भेट्टाएका हुन्। उनको शव अर्धनग्न अवस्थामा फेला परेका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो।

सोमबार बेलुका ७ बजेतिर छिमेकीकोमा खेल्न निस्केका छोरी ८ बजेसम्म पनि घरमा खाना खान नआएपछि आमाले खोजखबर गर्नुभयो।

आफन्त, छलछिमेकमा पनि छोरी सीतालाई नभेट्टाएपछि उहाँले चारैतिर हारगुहार गर्नुभयो। स्थानीय, वडा प्रहरीको टोली, सशस्त्र प्रहरी टोलीले रातभर खोजीकार्य गरे। तर बिहान मात्र बालिका मृत अवस्थामा फेला परेकी स्थानीय माधव पाण्डेयले बताउनुभयो।

मृत अवस्थामा फेला परेकी बालिकाको दाहिने हिपमा चिरिएको गहिरो घाउ देखिएको छ। उनको लुगा र चप्पल शव भएको स्थानदेखि १० मिटर टाढा मिलाएर राखेको देखिएको छ। र सोही स्थानमा रगत हिलाम्मे देखिनुका साथै घाँस र जमिन मरेको अवस्था रहेको प्रहरीले जानकारी दिए।

मृत बालिकाको शवलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको थियो। बालिकाको शवलाई चन्द्रौटा बजार परिक्रमा गरी घटनास्थलतिरै लगी अन्त्योष्टी गरिएको स्थानीय मानव अधिकारकर्मी विष्णुप्रसाद खतिवडाले जानकारी दिनुभयो।

बालिकाको हत्याको आशंकामा छिमेकी १७ वर्षीय भीमबहादुर कुँवरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभएको छ। बालिका शोभाखरकी कान्छी छोरी थिइन्। उनी स्थानीय आवर मदरल्याण्ड एकेडेमी कक्षा एलकेजीमा अध्ययनरत थिइन्।

आक्रोशित स्थानीय, विद्यार्थी, शिक्षक, संघसंस्थालगायतले घटनाको सत्यतथ्य र न्यायिक छानबिन गरी दोषीलाई कडाभन्दाकडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरे। बालिकाको विभत्स हत्यापछि स्थानीय व्यापारी व्यवसायीलेसमेत बजार पसल बन्द गरी विरोधमा उत्रिएका थिए। बालिकाको हत्याले प्याब्सन पश्चिम क्लस्टरअन्तर्गतका सम्पूर्ण निजी विद्यालयसमेत बन्द भएका थिए।