प्रशान्त वली, काठमाडौं
स्थ्य संस्थालाई मृत्युबाट बचाउन जाने ठाउँका रूपमा लिइन्छ। तर, तिनै स्वास्थ्य संस्थाबाट निस्कने फोहरका कारण अर्को कुनै रोग त निम्तिँदैन भन्ने शंकाको प्रश्न उठ्न थालेको छ। देशकै सबैभन्दा ठूलो अस्पताल मानिने वीर अस्पतालमा पुग्दा त्यहाँ प्लास्टिकले बेरिएको फोहोरको डंगुर देखिन्थ्यो।
त्यसमा सिरिन्जदेखि सलाइन पानीका बट्टा र औषधीका खाली डिब्बाहरू खुला आकाशमुनि अस्पतालको पछाडि भागमा छरपस्ट फालिएको थियो। सरसफाइको दृष्टिले अन्य ठाउँभन्दा अस्पताल अझ संवेदनशील मानिन्छ। तर, कतिपय अस्पताल परिसरमा जताततै फोहर फाल्ने गरिएको पाइएको छ। अस्पताल प्रशासनले फोहरलाई व्यवस्थापन गर्ने बताए पनि व्यहारमा त्यसो भएको देखिएको छैन। अस्पताल प्राङ्गणमा सञ्चालित औषधि पसलअगाडि कन्टेनर रहे पनि पसलेहरूले भुइँमै यत्रतत्र फोहोर फ्याँक्ने गरेको खुल्न आएको छ।
अस्पतालमा फोहर जमेर दुर्गन्ध बढेपछि उपचारका लागि आउने बिरामी, स्थानीय व्यापारी, सर्वसाधारण, अस्पतालकै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू नाक छोप्दै हिँड्नुपर्ने अवस्थामा भेटिन्छन्। सम्बन्धित पक्षले बेलैमा चासो नदिँदा विगत लामो समयदेखि दुर्गन्धमा नै बसेर काम गर्नुपरेको अस्पतालका कर्मचारीहरू बताउँछन्। वीर अस्पतालको चारैतिर फोहोरै–फोहोर थुपारिएको भए तापनि अस्पताल प्रशासनको चरम लापरबाहीका कारण लामो समयदेखि फोहोर व्यवस्थापन हुन सकेको छैन। जो कोही बिरामी भएपछि उपचारका लागि अस्पतालमा नै गइन्छ। अस्पतालमा सरसफाइदेखि खानपानमा ध्यान नदिँदा कुनै पनि रोगको संक्रमण हुने परामर्शसमेत दिइन्छ।
रोल्पा लिवाङका देवी भण्डारी बाबुको उपचारका क्रममा वीर अस्पतालमा आएकी छन्। उनी भन्छिन्– ‘बुबा त बिरामी हुनुभयो, म पनि यो अस्पतालको फोहोरसँगैको दुर्गन्धले गर्दा बिरामी हुन्छु कि भन्ने शंका लागिरहेको छ।’ फोहोरका कारण अस्पताल परिसरमा हिँड्दा पनि नाक थुन्नुपर्ने अवस्था आएको कुरुवाहरू बताउँछन्। फोहोरलाई खुला ठाउँमा संकलन वा नष्ट गर्दा वातावरण तथा जनस्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पर्ने बताइएको छ। उता वीर अस्पताल प्रशासनले भने विभिन्न वार्डहरूबाट जम्मा भएको फोहरलाई अस्थायी रूपमा राखेको बताएको छ। अस्पतालका निर्देशक डा. भूपेन्द्र वस्नेतले भन्नुभयो– ‘विभिन्न वार्डबाट जम्मा भएको फोहर संकलन गरेर प्लास्टिकमा राखिएको हो। बिहानको फोहर साँझ गाडीले उठाएर लैजान्छ। कुहिने फोहर महानगरपालिकाको ल्यान्डफिल्ड साइटमा र नकुहिने फोहर ट्रमा सेण्टरनजिकै रहेको प्रशोधन केन्द्रमा राखिन्छ। कहिलेकाँही प्राविधिक समस्या भएर नफालिएको हुन सक्छ। यस विषयमा मैले निगरानी गर्छु।’ यस्तै, राजधानीकै शिक्षण अस्पताल महाराजगन्ज, कान्ति अस्पताललगायतका अस्पतालहरूमा पनि फोहोरको वैज्ञानिक तरिकाले व्यवस्थापन गरिएको छैन।
यद्यपि, निजी अस्पतालहरूमा भने फोहरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने गरिएको पाइएको छ। अस्पतालका वार्डहरूबाट निस्कने फोहरलाई हरेक दिन संकलन गरी व्यवस्थापन गर्ने गरिएको देखिएको छ। अस्पतालबाट संकलन भएको फोहरलाई विभिन्न प्रकृतिमा विभाजन गरी महानगरपालिकाको जिम्मा लगाइदिने गरिएको नर्भिक अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंले बताएको छ।
अस्पतालका नायव महाप्रबन्धक आर.के मैनालीलाई कसरी फोहर व्यवस्थित गर्नुभएको छ भनि नेपाल समाचार पत्रले जिज्ञासा राख्दा मैनाली भन्नुहुन्छ,–‘अस्पतालबाट निस्किएको फोहरलाई विभिन्न भागमा विभाजन गर्छौ। प्रत्येक वार्डमा चारवटा डस्टविन राखिएको हुन्छ। महानगरपालिकाले समय अनुकूल उक्त फोहोर दैनिक लैजाने गरेको छ। ’
अस्पतालजन्य फोहरको व्यवस्थापन उचित र वैज्ञानिक ढंगले नगरिए फोहरमैला व्यवस्थापन ऐन २०६८ वमोजिम कारबाही हुने व्यवस्था छ। ऐनमा स्थानीय विकास मन्त्रीको अध्यक्षतामा १५ सदस्यीय फोहोरमैला व्यवस्थापन परिषद् गठन हुने उल्लेख भए पनि अहिलेसम्म बैठक बसेर कुनै ठोस निर्णय भएको खुल्न आएको छैन।
परिषद् गठन भए पनि करिब दुई वर्षदेखि बैठक बस्न नसकेको परिषद्का सदस्य काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले बताउनुभयो। किन बैठक बस्न नसकेको भनि नेपाल समाचारपत्रले जिज्ञासा राख्दा परिषद्का सदस्य तामाङ भन्नुहुन्छ,–‘म महानगरपालिकाको प्रमुखमा नियुक्ती भएको २१ महिना भयो। मलाई वैठक बसेको थाहा छैन।
प्रतिक्रिया