लोकमानलाई कारबाही गर्न सिफारिस


काठमाडौं, (नेस)
व्यवस्थापिका संसद्को महाअभियोग सिफारिस समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ। बिहीबार बसेको समितिको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदनबमोजिम कार्कीलाई विद्यामान कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको छ।

उक्त प्रतिवेदनमा कार्की पदमुक्त भइसकेको अवस्थामा महाअभियोग लगाउन नपर्ने जनाइएको छ। कार्कीले अख्तियार प्रमुख हुँदा पदीय आचरणविपरीत कार्य गरेको, मेडिकल काउसिलमाथि हस्तक्षेप गरेको, अदालतको मानहानि गरेकोजस्ता आरोपहरू लगाई संसद्मा महाअभियोग प्रस्ताव सिफारिस गरिएको थियो। उक्त प्रस्तावको सम्बन्धमा छलफल गर्न समितिले उपसमिति गठन गरेको थियो। समितिले अब प्रतिवेदन अनुमोदन गरेपछि संसद्मा पेस गरिनेछ।