दुखीको घरमा नै तेरो बास हुने भए हे ईश्वर मलाई अझै दुःख दे।
नाट्य सम्राट बालकृष्ण समको यो अमर टुक्कासँगै सोमबार राजधानीमा ११५आंै जन्मजयन्ती मनाइयो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बालुवाटारस्थित आफ्नै कार्यालय प्रांगणमा एक कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाएको हो। प्रतिष्ठानले पहिलोपटक समको जन्मजयन्तीको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो।
प्रतिष्ठानका कुलपति सरुभक्त र पूर्वउपकुलपति प्रचण्ड मल्लद्वारा समको तस्वीरमा माल्यार्पण गरी शुरू गरेको कार्यक्रममा नाट्य क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा रंगकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई सम्मान गरिएको छ। केही समयअघि दोलखामा भएको राष्ट्रिय नाटक महोत्सवमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उनलाई सम्मान गरिएको प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले बताए।
‘समजीको जन्मजयन्ती जति भव्यताको साथ मनाउनुपर्ने हो, यो वर्ष त्यति भव्यताको साथ मनाउनमा कमी भए पनि अर्को वर्ष भने औपचारिकतामा मात्र सीमित नभएर उनको कृतिलाई नयाँ पुस्तासम्म फैलाउनका लागि योभन्दा भिन्न किसिमको कार्यक्रम गरेर मनाउनेछौं’, सरुभक्तले भने– ‘उहाँ नाटककार मात्र नभएर चित्रकार, साहित्यकार, फोटोग्राफरलगायत बहुमुखी प्रतिभाको धनी हुनुहुन्थ्यो। उहाँ आफ्नै किसिमको दर्शन प्रतिपादन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपकुलपति तथा संगीतकार शम्भुजित बास्कोटाले पहिलोपटक आफ्नै आँगनमा बालकृष्ण समको जन्मजयन्तीमा कार्यक्रम गर्नुपर्छ भन्ने सरुभक्त श्रेष्ठको धारणाअनुसार कार्यक्रम राखिएको बताए। ‘म संगीतकार भए पनि मैले २०२८ सालमा उहाँको एक नाटकबाट आफ्नो नाट्य करियर शुरू गरेको थिएँ’, शम्भुजितले सुनाए– ‘उहाँको नाटकमा आधारित फिल्म प्रेमपिण्डमा मैले संगीत गरेको थिएँ।’
त्यसै गरी रंगकर्मी तथा अभिनेता सरोज खनालले आफूले समको नाटकमा आधारित फिल्म प्रेमपिण्ड खेल्दाको क्षण सम्झँदै भने– ‘मैले पनि समजीले लेख्नुभएको प्रेमपिण्डमा अभिनय गर्ने मौका पाएको छु। उहाँहरू जस्तो व्यक्तिका लागि केही गरौं भन्ने भावना हुन्छ। तर, गर्न पाएको छैन।’ समको जन्मजयन्ती मनाउने परिपाटी फेर्नुपर्ने धारणा राख्दै उनले भने– ‘आज उहाँको कृतिसँग सम्बन्धित सानो कार्यक्रम अथवा कुनै नाटक गरेको भए उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने थियो।’
त्यस्तै प्राज्ञ परिषद् सदस्य रमेश रञ्जन झाले कलालाई मनोरञ्जनको साधनको रूपमा मात्र लिने परिवारमा जन्मेर पनि आफू स्वयं लागेका समको कृतिहरू कहिल्यै पुरानो नहुने र नयाँ पुस्ताले समले गरेको रंगमञ्चको अवधारणालाई नयाँ ढंगले प्रयोग गर्नुपर्ने बताए। त्यसै गरी पूर्वउपकुलपति प्रचण्ड मल्लले सम नेपालमा मात्र नभई विदेशमा समेत चर्चित भएको चर्चा गर्दै समको सम्बन्धित विभिन्न विषयमा धेरैले लेखे पनि उनले जीवनमा भोगेका दुःखका बारेमा एक/दुई जनाले मात्र लेखेको खुलाए।
‘उनको लेखनकालमा राणा शासन थियो र राणाहरूको आदेश पाएपछि मात्र आफ्नो कृति छाप्न पाइन्थ्यो। १९८६ सालमा मुटुको व्यथा नामक कृति छाप्ने बेला पैसा नभएर उहाँले आफ्नो श्रीमतीको कल्ली बेचेर बनारसमा पुस्तक छाप्न पठाउनुभएको थियो। पछि धेरै समयपछि मात्र मुटुको व्यथा छापिएर आयो। त्यस बेला उहाँले धेरैलाई यो कृति बाँड्नुभएको थियो। उहाँ राम्रो चित्रकार पनि हुनुहुन्थ्यो’, मल्ले सम्झे– ‘उहाँको चित्र नेपालमा मात्र नभई अन्य देशमा पनि राखिएका छन्। तर, दुःखको कुरा आज उहाँको धेरै चित्रहरू हराएका छन्।’
नेपाली नाटकको क्षेत्रमा सेक्सपियरको रूपमा चिनिने उनी १९५९ मा जन्मिएका थिए भने २०३८ मा देहवसान भएको थियो। आफ्नो नामको पछाडि भएको शमशेरमा शेर हटाएर सबै समान र साझा हुन् भन्ने धारणा राख्दै सम लेख्न थालेका थिए। उनी राणा भए पनि राणाहरूमा हुने क्रूर स्वभाव उनमा थिएन। आफूभन्दा ठूलालाई तपार्इं भन्नु स्वाभाविक भए पनि उनले आफ्नी श्रीमती छोरीछोरा तथा परिवारका सम्पूर्ण सदस्यलाई तपाईं भनेर सम्बोधन गर्थे। ‘उनी हास्दा सामान्य तरिकाले हास्दैनथे। उनी हास्दा आफ्ना गालामा चाउरी पर्छ भन्ने कुरामा सजग थिए’ –रंगकर्मी मदनदास श्रेष्ठले सम्झिए।
प्रतिक्रिया