किन आत्महत्या गर्छन् बालबालिका?


विज्ञ भन्छन्– “जीवनोपयोगी शिक्षाको अभाव”

ईश्वरराज ढकाल, काठमाडौं
भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका दुई जना स्कुले विद्यार्थीले हालै आत्महत्या गरे। धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन्।

एकै प्रकृतिका भए पनि दुवै घटना फरक हुन्। यी घटना एक अर्कामा तालमेल खाँदैनन्। चैत ७ गतेदेखि सञ्चालन हुने स्कुल एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाइमा राम्रै थिए। किन झुन्डिएर आत्महत्या गरे त? कारण प्रहरीले खोज्दै होला। यद्यपि पछिल्लो समयमा स्कुले विद्यार्थीहरू विभिन्न कारणबाट आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ।

‘विशेष गरी १० देखि १६ वर्षका स्कुले विद्यार्थीहरूले आत्महत्या गरेको समाचार धेरै आइरहेका छन्।’ –अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भन्नुहुन्छ। आखिर किन यस्तो भइरहेको छ त? यसका केही मनोवैज्ञानिक कारण हुन सक्ने भण्डारी बताउनुहुन्छ।

उहाँले विद्यालयमा काउन्सिलर राख्ने नाममा डीआई राखेका कारण पनि कलिला विद्यार्थीमा यस्तो समस्या भएको हुनुपर्छ। जुनबेला पनि घोकन्ते विद्या र विद्यार्थीलाई बढी प्रेसर दिइने कारण यस्ता घटना बढ्दै गएको उहाँको ठम्याइ छ। अहिले विद्यालयले सञ्चालन गर्ने परीक्षा होस् वा एसईई, उमाविको परीक्षामा पनि अनुत्तीर्ण भयो कि आत्महत्या गर्ने संख्या बढेको छ। अघिल्लो वर्षमा एसएलसी वा प्लस टुको परीक्षाफल प्रकाशित भएकै दिन कुनै न कुनै जिल्लामा फेल भएका विद्यार्थीले आत्महत्या गरेको घटना सुनिन्थ्यो। तर अहिले साना कक्षाका विद्यार्थीले नै आत्महत्या गर्ने गरेको खबरले नेपाली समाजलाई अचम्मित पार्न थालेको छ।

‘टिन एजर स्कुले विद्यार्थीलाई सोसल एबिलिटीको बारेमा ज्ञान नभएका कारण यस्ता घटना बढ्न थालेको हो’, त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभाग प्रमुख एवम् बाल मनोविज्ञान विशेषज्ञ प्राडा शान्ता निरौला भन्नुहुन्छ– ‘स्कुले विद्यार्थीलाई एक्लो महसुस भएपछि आत्महत्या गर्ने घटना बढ्न थालेका छन्। उनीहरू चाँडै रिसाउँछन्, धैर्य गर्ने क्षमताको विकास भएको हुँदैन र परिवारमा एक्लो भएको महसुस गर्दै सानै उमेरमा आत्महत्या गर्ने गरेका छन्।’ ‘क्षणभरको निर्णयमा आत्महत्या गर्छन्, उनीहरूलाई आफ्नो अभिभावक होस् वा शिक्षकले सानो कुरा ग¥यो कि तत्काल दिमागमा राख्छन् अनि सोच्दै नसोचेर आत्महत्या गर्न थाल्छन्।’ –विभिन्न घटनाबारे जानकारी गराउँदै उहाँले भन्नुभयो।

‘अहिले त थोरै बच्चा हुन्छन्, आमाबुबासँग धेरै डिमान्ड गर्छन्। डिमान्ड पूरा गरिदिएनन् कि आत्महत्या गर्छन्।’ –उहाँले भन्नुभयो। ‘उनीहरूमा यौनजन्य द्वन्द्व बढी हुन्छ, जे कुरा माग ग¥यो कि तत्काल पु¥याइदिनुपर्छ, सोसल नेटवर्क र फिजिकल कन्ट्याक्याट बढी भएको कारणलेपनि स्कुले उमेरमा आत्महत्याको घटना बढेको हुनसक्छ।’ –उहाँले भन्नुभयो।

अभिभावक संघका अध्यक्ष भण्डारीले भने नैतिक शिक्षाको कमीले गर्दा पनि यस्ता घटना बढ्दै गएको दाबी गर्नुभयो। उहाँका अनुसार अनुशासन इन्चार्ज भनेकै विद्यार्थीलाई पिटेर ठेगान लगाउनका लागि राखेका व्यक्ति हुन्, विद्यार्थीले सानो गल्ती ग¥यो कि थप्पड हान्छन्, अनि धम्क्याउँछन्। यस्ता कारणले पनि विद्यालयमा आत्महत्याको घटना बढेको हुनसक्छ।

सानो उमेरमा प्रेम ग¥यो वा अन्य कुनै कारणबाट गल्ती गरे उनीहरूलाई माया गरेर सम्झाई बुझाई गर्दा त कहिल्यै पनि विद्यार्थीले आत्महत्या गरेको समाचार सुन्नुपर्दैन, सम्बद्ध विज्ञहरूको भनाइ छ। त्यसैले कलिला दिमागलाई सधैं माया गर्दा यस्ता घटना दोहोरिँदैन। उहाँले अभिभावकले माया नगर्दा पनि विद्यार्थीले तत्कालै आत्महत्या गर्नसक्ने बताउनुभयो।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यालयले जीवनोपयोगी शिक्षा दिन नसकेकाले यस्तो समस्या आएको बताउनुभयो। ‘यो त हाम्रै गल्ती हो। हामीले नैतिक र जीवनोपयोगी शिक्षा दिन सकेनौं, अनि कलिला विद्यार्थीले आत्महत्या गरेको घटना सुन्नुप¥यो।’ –उहाँले भन्नुभयो। उहाँले सबै विद्यालयले जीवन रक्षा र देशभक्तिपूर्ण शिक्षा दिनुपर्ने बताउनुभयो।

‘कडाइको नाममा कडा अनुशासन होइन, जीवनोपयोगी शिक्षा दिनु अहिलेको आवश्यकता हो।’ –उहाँको भनाइ थियो। बालमनोविज्ञान विशेषज्ञ प्राडा निरौलाले मिडिया र सोसल नेटवर्क तथा फिजिकल कन्ट्याक्टको कारण ठूलो तनावमा पर्ने र कलिलो उमेरमा आत्महत्याको घटना बढ्ने देखिएको बताउनुभयो। विद्यालय होस् वा घरमा जहाँ पनि धेरै काम गर्नुपरे उनीहरू रिसाउँछन्। अभिभावक र शिक्षकले धेरै कुरा सिकाउन खोज्छन्, तर उनीहरूको सोच्ने शक्ति कम हुन्छ। अनि क्षणिक कारणमै आत्महत्या गर्ने निर्णय गर्ने गरेको उहाँले बताउनुभयो।