गुठीको जग्गा गडबड गर्नेलाई जेल


नेपाल समाचारपत्र, काठमाडौं ।
धनुषा जिल्लाको गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गरी विशेष अदालतले सो जिल्लाका मालपोत अधिकृत रामनरेश यादवलगायत १२ जनालाई जनही तीन महिना कैद गर्ने फैसला गरेको छ।

न्यायाधीशहरू भूपेन्द्रप्रसाद राई, पवनकुमार शर्मा र प्रभा बस्नेतको इजलासले मालपोत अधिकृत यादवलगायत १२ जनालाई जनही तीन महिना कैद गरी एक लाख ५० हजार रुपियाँ जरिवाना गर्ने पनि फैसला गरेको विशेष अदालतबाट थाहा भएको छ।
धनुषा जिल्लामा रहेको गुठीको जग्गालाई मालपोत अधिकृत तथा अन्य कर्मचारीहरू मिली स्थानीय पञ्चा महतो काइरीको नाममा दर्ता गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतले सो आरोप विभिन्न प्रमाण तथा कागजातको आधारमा आरोपीहरूले गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गरी उनीहरूलाई कैद तथा जरिवानाको फैसला गरेको हो।

गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर भएकामा मालपोत कार्यालय, धनुषाका नायब सुब्बाहरू परमेश्वरप्रसाद साह, अरुणकुमार ठाकुर, मोहनदत्त कायस्थ रहेका छन्। यसैगरी मालपोत कार्यालयका नायब सुब्बाहरू मुकुन्दप्रसाद कोइराला, गंगाप्रसाद साह र हरिनारायण ठाकुर रहेका छन्। यसैगरी सोही कार्यालयका खरिदार राजकिशोर चौधरीलाई पनि सो आरोपमा तीन महिना कैद गरी एक लाख ५० हजार जरिवाना गर्नुपर्ने ठहर विशेष अदालतको छ।

यसै गरी लेखनदासहरू गुरुदयाल यादव र आस भन्ने जानकीशरण यादवलाई पनि त्यति नै महिना कैद गरी सोहीबमोजिम जरिवाना हुने पनि सो अदालतले फैसला गरेको विशेष अदालतबाट थाहा भएको छ।