सुन काण्डमा अरू पनि तानिँदै



ईश्वरराज ढकाल
काठमाडौं
अवैध सुन तस्करीमा संलग्नलाई पक्राउ गर्न नसकेको आरोप खेपिरहेको प्रहरीले मुख्य भरियासहित तीन जनाको बयानका आधारमा भन्सारका कर्मचारीलाई पक्राउ गरेको छ।

सुन धनीसँग सेटिङ मिलाउन सहयोग गर्ने आरोप लागेका काभ्रेका रामहरि कार्कीलाई मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले हिजो बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो।

भन्सारका दुई अधिकृतको संलग्नता देखिएको जानकारी सुनसँगै गत बिहीबार पक्राउ परेका भरियाले गराएपछि सीआईबीको टोलीले यादव र ढकाललाई पक्राउ गरेको हो। सीआईबी टोलीले दुवै जनालाई घरैबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवैलाई म्याद थप गरी सीआईबीमा राखिएको छ।

यसअघि भन्सारका कर्मचारीको संलग्नता रहेको आशंका भएपछि भन्सार विभागले सुन ल्याउने क्रममा विमानस्थलमा खटिएका २९ जना कर्मचारीलाई काम गर्न रोक लगाएर भन्सार विभागमा हाजिर गराएको छ। पक्राउ परेका यादव विमानस्थलको तथ्यांक अधिकृत र ढकाल एक्स रे मेसिन टेक्निसियसनका रूपमा कार्यरत छन्। सुरक्षा जाँच गरी ३३ किलो सुन बाहिर पठाउने क्रममा दुई कर्मचारीसँगै थिए।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले विमानस्थलका एक्सरे टेक्निसियन प्रद्युम्न श्रेष्ठ र श्याम श्रेष्ठलाई पनि निलम्बन गरिएको जानकारी दिनुभयो। गृहमन्त्री विमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत अवैध सुन भित्त्याउने जो कोहीलाई कारबाही गर्न सीआईबीका प्रमुख डीआईजी नवराज सिलवाललाई निर्देशन दिएपछि ब्युरोले ३३ तोला सुन ल्याउन संलग्नलाई पक्राउ गर्ने काम तीव्र बनाएको हो। ब्युरोका प्रमुख डीआईजी सिलवालले संलग्न देखिएका सबैलाई चाँडै पक्राउ गरिछाड्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘थुप्रैको संलग्नता देखिएको छ। उनीहरूलाई पक्राउ गर्नेछौं।’ ब्युरोले सुन मालिकलाई पक्राउ गर्ने अन्तिम तयारी गरेको छ। उच्च स्रोतका अनुसार सुन मालिक विदेशमै बस्ने गरेका छन्। पक्राउ गरेका काभ्रेका कार्की सुन मालिकसँग कुरा मिलाउने व्यक्ति भएकाले अनुसन्धान भइरहेको जनाइएको छ।

गत बिहीबार सुनसहित तीन जना भरियालाई सीआईबीको टोलीले पक्राउ गरेको थियो। डीआईजी सिलवालले तस्करी काण्डमा संलग्न रहेका सबैलाई छिट्टै पक्राउ गर्ने दाबी गर्नुभयो। लगातार सरकारी वकिलसमक्ष बयान दिएका भरिया र काभ्रेमा पक्राउ परेका कार्कीको बयानको आधारमा तस्करीको थप रहस्य खुलेको छ।

विदेशमा होस् वा स्वदेशमा जहाँ भए पनि सुन तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाही गरेरै छाड्ने दाबी गर्दै अहिले नै क–कसको संलग्नता छ भन्न नमिल्ने बताउनुभयो। गत पुस २१ गते दुबईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सुन बरामद गरिएको थियो। नक्कली चाइनिज पेस्तोलसहित सुन लिन आएका जोरपाटीका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई समेत सीआईबीले पक्राउ गरेको थियो। प्रहरीले सबैलाई संगठित अपराधअन्तर्गत मुद्दा चलाउने भएको छ।

सबैलाई पछिल्लो समयमा २० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
यसैबीच नेपाल प्रहरी अपराध अनुसन्धान विभाग प्रमुख एआईजी विज्ञानराज शर्माले सुन तस्करीको विषय इन्टरपोलको सम्मेलनमा प्रवेश गराउने बताउनुभयो। उहाँले यो विषय गम्भीर हो, यसलाई विश्वका ५३ मुलुकका १ सय ५५ जना इन्टरपोलका प्रमुख र प्रतिनिधि सहभागी हुने सम्मेलनमा छलफलको विषय बनाउनेछौं भन्नुभयो। इन्टरपोलको यही माघ ५ देखि ७ गतेसम्म काठमाडौमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्