संशोधन प्रस्तावविरुद्धमा कालो झण्डासहित प्रदर्शन


अनील खत्री, गुल्मी
सरकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा गुल्मीमा कालो झण्डासहित प्रदर्शन भएको छ। सरकारले संशोधन प्रस्ताव अगाडि बढाउने संकेत गरेपछि सोमबार संयुक्त संघर्ष समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा नागरिकहरूले हातमा कालो झण्डा लिएर बिभिन्न नाराबाजीसहित प्रदर्शन गरेका छन्।

विरोध कार्यक्रमको ३४औं दिनको कार्यक्रमअन्तर्गत तम्घास बजारका विभिन्न स्थान सँगै जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि कालो झण्डासहित प्रदर्शन भएको हो। विरोध कार्यक्रममा ‘सीमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाती प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ जस्ता नाराहरू लगाउँदै विरोध गरेका छन्।

प्रदर्शनपछि कोणसभामा बोल्ने अधिकांश नेताहरूले सीमांकन हेरफेरको प्रस्तावअगाडि आन्दोलनका कार्यक्रमहरू पनि थप सशक्तरूपमा अगाडि बढ्ने बताए। पाँच नम्बर प्रदेशलाई टुक्रिनबाट बचाउन सबैदल दृढताका साथ अघिबढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले जनताको भावनामाथि खेलवाड नगरी अविलम्ब प्रस्ताव फिर्ता लिएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन्। गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दललगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ।