एमिकस क्युरीमा बारले टोली खटायो



विश्वकान्त मैनाली, पूर्णमान शाक्य र शैलेन्द्र दाहाल तोकिए।
नेपाल समाचारपत्र
काठमाडौं
स्थानीय निकायको निर्वाचन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनले तीन जनालाई एमिकस क्युरीका रूपमा पठाएको छ।

सर्वोच्च बारबाट थाहा भएअनुसार एमिकस क्युरीका रूपमा पठाइएकामा वरिष्ठ अधिवक्ताद्वय विश्वकान्त मैनाली, पूर्णमान शाक्य र अधिवक्ता शैलेन्द्र दाहाल हुनुहुन्छ। न्यायाधीशहरू चोलेन्द्र शमशेर जबरा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले गएको साता अहिलेको अवस्थामा स्थानीय निकायको निर्वाचन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा गम्भीर संवैधानिक प्रश्न समावेश भएको उल्लेख गरेको थियो।

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले हाल स्थानीय निकायको निर्वाचन गराउन आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमा सुनुवाइ भएपछि सर्वोच्च अदालतले यस विषयलाई गम्भीर संवैधानिक प्रश्नका रूपमा लिएको हो।

यस गम्भीर संवैधानिक प्रश्नलाई टुङ्गो लगाउन सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई तीन जनाको दरले वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई एमिकस क्युरी (अदालतको सहयोगी) का रूपमा पठाउन अनुरोध गरेको थियो। सोबमोजिम सर्वोच्च बारले तीन जनाको नाम एमिकस क्युरीका रूपमा पठाएको हो। नेपाल बारले भने त्यसबारेमा निर्णय गरिसकेको छैन। न्यायाधीशहरू जबरा र कार्कीको इजलासले यस प्रश्नलाई टुङ्गोमा पुर्याउन यही पुस १३ गते उक्त रिट निवेदनलाई पेसीमा राख्नका लागि सर्वोच्च अदालतको प्रशासनलाई आदेश दिएको छ।

नेपालको संविधानको धारा ३०३ को उपधारा (१) मा नयाँ संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका स्थानीय निकायहरू, स्थानीय तहको संख्या र क्षेत्र निर्धारण नभएसम्म कायम रहने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्