सरकारले श्रम शोषण हुन दिँदैनः श्रममन्त्री


काठमाडौं, (नेस) श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रम शोषण हुने गतिविधि रोक्न सरकारले प्रभावकारी कदम चाल्ने बताउनुभएको छ। उहाँले वैदेशिक रोजगारीको साथै बालबालिकामाथि हुने श्रम शोषण हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो। मन्त्री गुरुङले श्रम शोषण गर्नेविरुद्ध सरकारले कडा कारबाही गर्ने बताउनुभयो।

ज्योतिको घर नेपालको सातौं वार्षिकोत्सव कार्यक्रमलाई आइतबार राजधानीमा सम्बोधन गर्दै मन्त्री गुरुङले श्रम शोषण अन्त्य गर्नका लागि सरकारले सामाजिक संघ–संस्थाको साथ लिएको बताउनुभयो। सरकार श्रम शोषणमुक्त समाज निर्माणको अभियानमा प्रतिबद्ध रहेको बताउँदै उहाँले बालबालिकाको श्रम शोषण नहुने गरी सरकारले प्रभावकारीरूपमा नीति र योजना अगाडि सार्ने बताउनुभयो। अब कुनै पनि बालबालिकामाथि श्रम शोषण हुने छैन, मन्त्री गुरुङले भननुभयो– श्रम शोषण मुक्त समाज निर्माण गर्नु राज्यको दायित्व र कर्तव्य हो, सरकार जिम्मेवारी पूरा गर्न तयार छ।

कार्यक्रममा केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले देशभर बालबालिका गृह सञ्चालन गर्नका लागि ५ सय ६० वटा संघ–संस्थालाई अनुमति दिएको बताउनुभयो। बाल कल्याण समितिले अनुमति दिएका मध्ये ज्योतिको घर नेपालले १ हजार बालबालिकालाई अध्ययन गराएर उत्कृष्ट काम गरेको बताउँदै उहाँले सञ्चालन अनुमति लिएर मापदण्डविपरीत काम गर्ने २० वटा बालगृहलाई कारबाही गरेको बताउनुभयो।

कार्यक्रमका सभापति एवं ज्योतिको घर नेपालका अध्यक्ष विजय लामाले मुलुकभरका वादी तथा चेपाङ समुदायका बालबालिकाको साथै अनाथ असहाय र विपन्न बालबालिकाहरूलाई संस्थाले अध्ययन गराउँदै आएको बताउनुभयो। उक्त कार्यक्रममा हास्य कलाकारद्वय दीपाश्री निरौला र दीपकराज गिरी, टीटीएन अस्ट्रेलियाका अन्तर्राष्ट्रिय निर्देशक ग्राहम कर तथा उनकी धर्मपत्नी रविनलाई ज्योतिको घर नेपालले सम्मान गरेको थियो। संस्थाले १ हजारभन्दा बढी वादी चेपाङ एवं विपन्न बालबालिकालाई निःशुल्क अध्ययन गराउँदै आएको छ।