काठमाडौंमा गुड्ला त मोनो रेल

0
Shares

सुरेश तामाङ, काठमाडौं

ठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्ररूपमा गृहकार्य अगाडि बढाएको छ। काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास, निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो।

काठमाडौं मोनो रेल सञ्चालनका लागि काठमाडौं मोनो रेल कम्पनी प्रालिले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको छ। बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिसकेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइएअनुसारको प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय लिने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

कम्पनीले बुझाएको अध्ययन प्रतिवेदनमा आर्थिक र प्राविधिकरूपमा अस्पष्टता भएको जनाउँदै खुलाएर फेरि विस्तृतरूपमा अध्ययन गरेर प्रतिवेदन बुझाउन बोर्डले वैशाखमा ४ महिनाको समय सीमा तोकिदिएको थियो। सो प्रतिवेदन केही दिनमै बोर्डमा आइपुग्ने बोर्डले जनाएको छ।

प्रस्तावक कम्पनीले सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डलाई बुझाएको थियो। बोर्डका कार्यकारी अधिकृत अधिकारीले भन्नुभयो– ‘हामीले सम्भाव्यता अध्ययनको रिपोर्टमा वित्तीय र प्राविधिक अवस्थामा केही अस्पष्टता देखिएकाले यसलाई पुनरवलोकन गरेर विस्तृत रिपोर्ट छिटो बुझाउन भनेका छौं।

प्रारम्भिक प्रतिवेदनअनुसार मोनो रेल भित्री रिङरोडमा २७ किमिमा सञ्चालन हुनेछ भने सो रेल दोहोरो ट्रइकमा सञ्चालन हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

फ्लाइओभरमा सञ्चालन हुने सो रेलको गति प्रतिघण्टा ५० देखि ६५ किमी रहने छ र यो परियोजना सम्पन्न गर्न कम्पनीले ४६ अर्ब लाग्ने अनुमान गरेको थियो। बोर्डले यो अनुमानित लागतमा पनि प्रश्न उठाएको छ। प्रतिवेदनमा खुलाएअनुसार १४ वटा रेलमार्फत यात्रुलाई सेवा दिनेछ भने जहाँ ३–४ वटासम्मको डब्बा हुनेछ। कम्पनीले १ डब्बामा ७० देखि १ सय जनासम्म यात्रु अट्ने आकलन गरिएको छ।
चक्रपथअन्तर्गतका कलंकी चोक–स्वयम्भू–गोंगबु–नारायणगोपाल चोक–चाबहिल–तीनकुने–सातदोबाटो–धोविघाट हुँदै कलंकीसम्म ८ ट्रान्सफर स्टेसन रहनेछ, जहाँबाट मेट्रो रेलका लागि तोकिएको भित्री शहरसम्म जाने रुटमा जोड्नेछ।

चक्रपथकै सीतापाइला चोक– बालाजु–तिलिगेंटार– धुम्बाराही– गौशाला–एयरपोर्ट–सिनामंगल–कोटेश्वर–ग्वार्काे–एकान्तकुना–बल्खु हुँदै सीतापाइलासम्म पुग्ने ११ अर्डिनरी स्टेसन रहने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ। मुख्य गरी विद्युत्बाट चल्ने यो रेलले कति विद्युत् खपत गर्छ भन्ने रायसमेत खुलाउन बोर्डले आग्रह गरेको छ।

काठमाडौं र ललितपुरको ट्राफिक जामलाई कम गराउनु यो परियोजनाको मुख्य उद्देश्य रहेको छ। यसले ठूला शहरी यातायातमा सुविधा पुग्ने, भित्री शहरमा तीव्र गतिमा यात्रा गर्ने सुविधा, शहरमा बढेका यातायातको उच्च चापका कारण भएको ट्राफिक जामको समस्यालाई दीर्घकालसम्म समाधान गर्न, मेट्रो वा शहरी यातायात वा अन्य परम्परागत माध्यमको तुलनामा निर्माण गर्न सजिलो भएकाले यसले शहरलाई सौन्दर्य र शोभा दिने, ट्राफिक जाम र सडक दुर्घटनालाई न्यूनीकरण गर्ने, इन्धनको खपत, यात्रुहरूका लागि सुरक्षित यातायातका साधन हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।