विपना मुसिख्वाल
माटोको भाँडाकुँडा मानिसको जीवनमा नभई नहुने सामाग्री हो । परम्परागत कालदेखि नै साधारण कार्य भोज भतेर, जन्म–मृत्यु संस्कारमा समेत माटाको भाँडा प्रयोग हुँदै आएको छ । जुन अहिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
यही माटाको भाँडाकुँडा बनाएर नै भक्तपुरका कतिपय बासिन्दाले गुजारा चलाउँदै आएका छन् । उनीहरूले आफ्नो आयस्रोतको रूपमा यही पुख्र्याैली पेसालाई लिएका छन् । भक्तपुरको बोलाछे, व्यासी, ठिमी, कमलविनायक, सुकुलढोकालगायत विभिन्न ठाउँका बासिन्दाले यो पेसा अपनाउँदै आएका छन् । भक्तपुर बोलाछेका बासिन्दा राजेश प्रजापती भन्छन्– ‘यस पेसामा परिवारको सबै सदस्य संलग्न छौं । यसको आम्दानीले परिवार खर्च टारेर वार्षिक ९० हजारसम्म आम्दानी हुन्छ ।’
जगातीस्थित राइजल्यान्ड सेकेन्डरी स्कुलमा अध्ययनरत १५ वर्षीया बालक विकेश प्रजापती भन्छन्– ‘परिवारको तीन जना सदस्य यस कार्यमा संलग्न हुनुहुन्छ । म पनि स्कुल बिदा भएको समयमा र फुर्सद भएको समयमा रङ लगाई सहयोग गर्छु ।’ उलेले यस पेसाबाट मासिक ३० देखि ३५ हजार रुपियाँसम्म कमाइ हुने बताउनुभयो ।
भक्तपुरमा बनेको माटोका सामाग्री नेपालको काठमाडौं, जिरी, पोखरालगायत विभिन्न ठाउँमा बिक्री हुन्छ । साथै जर्मनी, जापानलगायत विश्वका विभिन्न भागमा बिक्री हुने व्यापारीहरू बताउँछन् । नेपालमा घुम्न आएका पर्यटकले समेत माटोको सामाग्री लैजाने गर्छन् ।
काठमाडौं बानेश्वरका ग्राहक पूजा थापा भन्छिन्– ‘माटोको भाँडा हेर्दा आकर्षक र सस्तो हुने गर्दछ । त्यसैले माटोको भाँडा किनेर लैजाने गरेको छु ।’ यस पेसामा संलग्न रहेकी विसम लक्ष्मी प्रजापती भन्छिन्– ‘भाँडा बनाउनको लागि आवश्यक माटो सिपाडोलबाट किन्ने गरेको छु र यसका लागि कालिमाटी र चिनियाँ माटो उपयुक्त हुन्छ ।’ तर इँटाभट्टाका कारणले यस्तो माटोको अभाव भएको उनको गुनासो रहेको छ ।
माटोबाट साधारणदेखि ठूला भाँडाकुँडा बनाउने गरिन्छ । दियो, खुत्रुके, पटासी, हाँडी, गाग्री, कलाचा, कटारो, देवीदेवताको मूर्तिलगायत कोठा सजाउने विभिन्न सामाग्री बनाउने गरिन्छ ।
प्रतिक्रिया