नयाँ विधानअनुसार प्याब्सनको प्रदेश थपिएको छ। अध्यक्षलाई विशेष अधिकारको व्यवस्था गरिएको छ। प्याब्सनले दिएको जानकारीअनुसार हालसम्म दैलेख, दार्चुला, झापा, कास्की, सर्लाही, महोत्तरी इलाम, सिन्धुली, सुनसरी र पर्साको अधिवेशन सम्पन्न भइसकेको छ। झन्डै १० लाख विद्यार्थी अध्ययन गर्ने बृहत् संस्था भएकाले यसको महत्त्व पनि बढ्दै गएको अध्यक्ष लक्ष्यबहादुर केसीको धारणा छ। अबको महाधिवशेनबाट विजयी हुने पदाधिकारीको झन् ठूलो जिम्मेवारी रहने उहाँको भनाइ थियो।
प्याब्सनका सबै पदाधिकारी अहिले देशव्यापी दौडाहामा छन्। गोप्यरूपमा आफ्नो उम्मेद्वारी घोषणासँगै चुनावी प्रचारमा जुटेका पदाधिकारीले यही माघ २८ र २९ गते हुने १३औं महाधिवेशनमा रणनीति तयार गरिरहेका छन्। अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे, महासचिव डीके ढुंगाना र पूर्वउपाध्यक्ष टीका पुरी देश दौडाहामा लागेका छन्। नयाँ विधानअनुसार पुस १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले सिङ्गो प्याब्सन पदाधिकारी महाधिवेशनको प्रचारमा लागेका हुन्। अध्यक्षका तीनैजना प्रत्यासी सबै जिल्लाको अधिवेशनमा व्यस्त देखिन थालेका छन्। तिनैजना अध्यक्ष पदका मजवुत दाबेदार हुन्।
गएको महाधिवेशनदेखि नै नयाँ कार्यकालको तयारीमा जुट्नुभएका महासचिव ढुंगानाले आफ्नो जित सुनिश्चित रहेको भन्दै प्रतिनिधिलाई आफ्नो पकडमा ल्याउन व्यस्त देखिनुभएको छ। वरिष्ठ उपाध्यक्ष सम्बाहाम्फे देशभरका प्रतिनिधिलाई आफूलाई जिताउन आग्रह गर्दै देश दौडाहामा व्यस्त हुनुभएको छ। पूर्वउपाध्यक्ष एवं पूर्वाञ्चलका चर्चित प्याब्सनिस्ट पुरी आफूले चुनाव जित्ने सुनिश्चित रहेको भन्दै व्यापक प्रचारमा जुट्नुभएको छ। तीनै प्रत्यासी प्याब्सनको कार्यसमितिमा लामो समय कार्यसमितिमा रहेर काम गरेको अनुभव छ।
तथापि प्याब्सन टिम यो अवस्थामा सहमतिबाटै अघि बढ्ने गृहकार्य गरिरहेको छ। प्याब्सनलाई सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै पूर्वसल्लाहकारहरूले मिलेर अघि बढ्नु उचित रहेको सल्लाह दिन थालेका छन्। यद्यपि अध्यक्षका तीनैजना प्रत्यासी निर्वाचनकै पक्षमा रहेका छन्। जस्तो नेतृत्व भए पनि हाम्रो अनि राम्रो नेतृत्व आवश्यक रहेको अधिकांश सदस्यको धारणा छ। करिब ८ हजार विद्यालयका प्रतिनिधि रहेको प्याब्सनमा यदी निर्वाचन भए तीनै जनाबीच कडा प्रतिस्पर्धा देखिने निश्चित भएको छ।
मुलुक संघीयतामा गइसकेको अवस्थामा प्याब्सनको नेतृत्व चयनसमेत फरक ढंगले अघि बढाएको छ। ‘पुस मसान्तभित्र सातवटै प्रदेशको निर्वाचन गर्ने गरी तयारी अघि बढाएका छौं⁄ –प्याब्सनका महासचिव डीके ढुंगानाले भन्नुभयो। उहाले संघीय राज्यअनुसार प्रदेशस्तरको निर्वाचन गरेपछि मात्रै केन्द्रको महाधिवेशन गर्ने तयारी भएको छ। संशोधित विधानअनुसार सात प्रदेशमा प्रदेश समितिको निर्वाचन हुनेछ। महाधिवेशनमा ४ खुलासहित १४ जना उपाध्यक्षको व्यवस्था गरिएको छ। कार्यसमितिमा विजयी सदस्यहरूमध्ये अध्यक्षले एक जना सदस्यलाई सचिवमा नियुक्ति प्रावधान राखिएको महासचिव ढुंगानाको भनाइ छ। त्यस्तै १ सय ५० वटा विद्यालय सदस्य रहेको जिल्लामा एक जना प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्ष रहने गरी नयाँ व्यवस्था गरिएको छ।
नयाँ विधानअनुसार प्याब्सनको प्रदेश थपिएको छ। अध्यक्षलाई विशेष अधिकारको व्यवस्था गरिएको छ। प्याब्सनले दिएको जानकारीअनुसार हालसम्म दैलेख, दार्चुला, झापा, कास्की, सर्लाही, महोत्तरी इलाम, सिन्धुली, सुनसरी र पर्साको अधिवेशन सम्पन्न भइसकेको छ। झन्डै १० लाख विद्यार्थी अध्ययन गर्ने बृहत् संस्था भएकाले यसको महत्त्व पनि बढ्दै गएको अध्यक्ष लक्ष्यबहादुर केसीको धारणा छ। अबको महाधिवशेनबाट विजयी हुने पदाधिकारीको झन् ठूलो जिम्मेवारी रहने उहाँको भनाइ थियो।
सरकारले हामीप्रति गरिरहेको व्यवहारविरुद्धमा सशक्त भएर अघि बढ्ने प्याब्सनको नीति रहेको बताउँदै अध्यक्ष केसीले भन्नुभयो– ‘अबको महाधिवेशनको हाम्रो एजेन्डा यही रहन्छ। हामीले सरकारलाई पटक–पटक मागपत्र दियौं, हाम्रो कुराको सुनुवाइ भएन, वार्ता भयो समस्या जस्ताको त्यस्तै भयो। अब के गर्ने ? यो विषयको उत्तर अबको महाधिवेशनले खोज्नेछ। त्यसका लागि सबै प्याब्सनिस्टहरू एक हुनुको विकल्प छैन। हामी अब विगत जस्तै स्ट्रङ कार्यसमिति चयन गर्नेछौं। जसले गर्दा विगतको कामको निरन्तरता दिनुपर्छ। शिक्षा ऐन संशोधन भएको छ। शिक्षा नियमावली आउने क्रममा छ। यसलाई सरकारले कसरी हेरेको छ भन्ने विषयमा अध्ययन गर्छा, त्यसपछि थप कार्यक्रम अघि बढाउनेछौं।⁄
सरकारले शिक्षा नियमावली ल्याउने अन्तिम तयारी गरिरहेको बेला प्याब्सनको भूमिका झन् महत्त्वपूर्ण देखिएको छ। शिक्षा ऐनको आठौं संशोधनबाट कक्षा १–१२ लाई माध्यामिक तह उल्लेख गरेपछि हाल सञ्चालन भइरहेका प्लस टु पनि प्याब्सन मातहतमा आउन सक्ने भएको छ। १० र १२ कक्षासम्म मात्रै सञ्चालन भएका उमाविहरूले कक्षा १–१२ सञ्चालन गर्नुपर्ने भएपछि प्याब्सनले आफ्नो भूमिकालाई पथ बलियो बनाउन खोजेको छ। ‘भूकम्पले ध्वस्त भएका विद्यालय पुनर्निर्माण गर्दा सरकारले दिने भनिएको सहुलियत ऋण, सबै प्रकारको छात्रवृत्ति दिँदा सरकारीलाई मात्र गर्ने भेदभाव अन्त्य गर्न हाम्रो महाधिवेशनले मुख्य भूमिका खेल्नेछ⁄ –अध्यक्ष केसीले भन्नुभयो।
शिक्षक महासंघको अधिवेशन पुस पहिलो साता
पुसको पहिलो साता महासंघको चुवानी संरचना तय गर्ने गरी नेपाल शिक्षक महासंघको दुईदिने विधान अधिवेशन सकिएको छ। विधान अधिवेशनले जिल्ला अधिवेशन, गाउँपालिका घोषणा भए गाउँ अधिवेशन, प्रदेश घोषणा भए प्रदेश अधिवेशन गर्ने र त्यसपछि मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेपालको संविधान २०७२ घोषणासँगै फेरिएको संरचनाअनुसार महासंघलाई अघि बढाउन विधानका विषयमा छलफल आवश्यक भएको भन्दै महासंघले विधान अधिवेशन आयोजना गरेको हो। सात विषयमा प्रस्ताव पारित गरी महासंघको गतिविधि अघि बढाउने अधिवेशनले निर्णय गरेको छ। शिक्षामन्त्री धनीराम पौडेलले विद्यान अधिवेशनले महासंघको एउटा खाका कोर्न सफल हुनुपर्ने धारणा राख्नुभएको थियो। बाहिर अस्थायी शिक्षकले धर्ना दिएरहेको बेला तीन दिनअघि आयोजना गरेको विधान अधिवेशनले अस्थायी शिक्षकको समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ। मन्त्री पौडेलले शिक्षामा बढी राजनीतिभन्दा पनि कक्षाकोठाको वातावरण बढाउन शिक्षकका भूमिका महत्त्वपूर्ण रहेको दाबी गर्नुभयो।
शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहमा दिएको सन्दर्भमा स्थानीय निकायलाई त्यसअनुसारको सक्षम बनाउन माग गर्ने, शैक्षिक उन्नयनका लागि शिक्षक महासंघले सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गर्ने तथा अस्थायी शिक्षक, विद्यालय कर्मचारी, पीसीएफ, अन्य शिक्षकहरूको समस्या समाधानका लागि सरकारले महासंघसँग गरेका सहमति र सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका बुँदा अधिवेशनले पारित गरेको छ।
विभिन्न ५ वटा समूह बनाएर शिक्षकहरूबीच छलफल गरिएको थियो। छलफलको निचोडको रूपमा शिक्षकका तत्कालीन मागदेखि महासंघलाई दीर्घकालीनरूपमा अघि बढाउने खाका तयार भएको जनाइएको छ। ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता⁄ भन्ने नाराका साथ सम्पन्न उक्त अधिवेशनले अस्थायी शिक्षकहरूका मागका विषयमा सरकारले न्यायोचित निर्णय नगरे त्यसकाविरुद्ध अघि बढ्ने विषय पारित भएको छ।
इस्टपोल स्कुलमा विज्ञान प्रदर्शनी
सहयोगी स्रोत केन्द्र, गोकर्ण काठमाडौंको प्राविधिक सहयोग तथा इस्टपोल स्कुल जोरपाटीको व्यवस्थापनमा आइतबार इस्टपोल स्कुलको प्रांगणमा बृहत् विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ। प्रदर्शनीमा ५० भन्दा बढी विद्यालयका छात्रछात्राको सहभागिता रहेको थियो भने १० हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका थिए। विद्यार्थीहरूले आ–आफनो स्टलमार्फत् विविध वैज्ञानिक वस्तु तथा उपकरणको प्रदर्शनी देखाएका थिए भने विद्यार्थीहरूले रुचिपूर्वक अवलोकन गरेका थिए।
वैज्ञानिक वरदानका बारेमा विद्यार्थीहरूलाई ठोस प्रयोगात्मक जानकारी दिने उद्देश्य प्रदर्शनीको रहेको इस्टपोल स्कुलका प्रधानाध्यापक राजेश राईले जानकारी दिनुभयो। यस्ता प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञान विषयको रुचि अझ बढ्ने र विभिन्न स्कुलका विद्यार्थीबीचको सम्बन्ध अझ प्रगाढ हुने सहयोगी स्रोत केन्द्रका प्रमुख रामनारायण शाहले बताउनुभयो। प्रदर्शनीको उद्घाटन काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यले गर्नुभएको थियो।
प्रतिक्रिया