दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतमा बसाइँसराइ जानेको संख्या बढ्दै गएपछि गाउँहरू रित्तिन थालेका छन्। न्यूनतम आवश्यकता र सुविधा खोज्दै बसाइँ सरी जानेहरू र विदेश पलायन हुनेको संख्या बढेपछि गाउँहरू रित्तिएका हुन्।
सदरमुकामदेखि दुई घण्टाको पैदलमा सजिलै पुग्न सकिने जिल्लाको ठूलीपोखरी–५ अर्जिकोट गाउँ पनि अहिले बसाइँ सरी जानेहरूको कारण लगभग सुनसान छ।
२०७० सालसम्म ठूलीपोखरी–५ अर्जिकोटमा ५० घरपरिवारमा करिब ५ सय जनाको बसोबास थियो। तर अहिले त्यही गाउँमा मुस्किलले ५० जनामा सीमित भएको छ। सोही गाउँका चिरञ्जीवी लामिछाने विगत ५ वर्षअघि कामको खोजीमा तराईतिर पसे। शहरबजारमा मानिसहरूको आउजाउ बढी हुने, सहजै काम पाइने र केटाकेटीलाई पढाउन सजिलो भएपछि केही वर्ष उनी उतै बसे। न्यूनतम आवश्यकता र सुविधा खोज्दा–खोज्दै उनको बसाइँ अहिले उतै भएको छ। नजिकैका अर्जुन लामिछाने पनि आफ्नो बस्दै आएको घर र जग्गा सबै बेचेर नवलपरासी बसाइँ सरेको करिब १० वर्ष भयो।
सोही गाउँमा खाली रहेका अधिकांश घरहरू हिजोआज बाहिरबाट गाउँ आएका पाहुना सुताउन प्रयोग हुँदै आएका छन्। याी दुई परिवार त उदारण मात्र हो। एक दशकयता ठूलीपोखरी गाविसकै धेरै वडाका परिवार गाउँबाट बसाइँ सरिसकेका छन्। कामको सिलसिलामा गाउँ बाहिरिनेहरू कहिल्यै फर्किएर नआउने बरु परिवार र आफन्तलाई समेत आफू बसेकै ठाउँमा लैजाने गरेका छन्। युवा विदेशिएपछि तिनका श्रीमती बालबच्चा बोकेर शहर झर्ने र परिवारै गाउँ नफर्किने संस्कारै बसिसकेको स्थानीय वृद्धवृद्धा बताउँछन्।
मुख्य गरी शिक्षा, स्वास्थ्य र रोजगारको खोजीमा बाध्यताले गाउँ छोड्नेहरू अधिक रहेको सोही गाविसमा अध्यापन गराउने शिक्षक बलबहादुर केसी बताउँछन्। स्थानीयले गाउँ छोड्दै गएपछि आसपासको खेतबारी सबै बाँझै छ। गाउँमा बस्नेहरूमा निर्वाहमुखी खेतीको विकल्प नहुने, अति विपन्न परिवार र केही बूढाबूढी मात्रै छन्। सदरमुकामबाट २ घण्टामै पुगिने भए पनि विकासका सम्भावनाहरू शुरू नभएका भने होइनन्। बर्खाको केही महिना मात्रै सवारी नगुड्ने भए पनि धुले र कच्ची सडकले गाउँका मुख्य बस्तीहरू छोएका छन्।
प्रतिक्रिया