रुवाउँदै नचाए बद्रीले

0
Shares

लोकप्रिय लोकगायक बद्री पंगेनीले नवलपरासीको महोत्सव तताएका छन्। कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको पाँचौं दिन सोमबार महोत्सवकै प्रमुख आकर्षक बनेका उनले माहौल ताएका हुन्।

जोस्याउने र हौस्याउनेका साथै मार्मिक गीतसमेत गाएर दर्शकको मनमा राज गर्न सफल गायक पंगेनीले महोत्सवमा पहिलो प्रस्तुतिबाटै दर्शकलाई भावुक बनाइदिए। बद्रीले आफ्नो पहिलो प्रस्तुतिस्वरुप लाउ चेली सिन्दुर लाउ बोलको गीत गाउँदा कार्यक्रममा उपस्थित दर्शकमध्ये वृद्धहरुले आँखाबाट आँसु झारेको देखिन्थ्यो। मञ्चबाटै तल झर्दै वृद्ध आमाबुबाको आँसु पुछ्दै गीत गाउँदा बद्री स्वयंले पनि आँसु झारेका थिए। उनले नेपाली युवाहरु विदेशिनुपरेको पीडा र घरमा बूढा आमाबुबा एक्लै बस्दाको पीडालाई गीतमार्फत व्यक्त गर्दा उपस्थित सबैको आँखा रसाएका थिए। गीत गाएर दर्शक रुवाउन खप्पिस उनी ती दर्शकलाई रमाइलो गर्न पनि उत्तिकै सिपालु छन्। पहिलो प्रस्तुतिमा गीत गाएर दर्शकलाई आँखाबाट आँसु बगाउन बाध्य पारेका उनले लगत्तै अरू गीत गाएर नाच्न पनि बाध्य पारे। उनका गीतमा दर्शकले कम्मर भाँचेर नाच्दै मनोरञ्जन पनि हासिल गरे।

उनले कार्यक्रममा आधा दर्जन गीतहरु गाउने क्रममा रातो पछइैरी, ससुरालीमालगायतका गीतहरु गाएर दर्शकलाई छमछमी नचाएका थिए। कार्यक्रममा बद्रीको साथमा अन्य थुप्रै राष्ट्रिय कलाकारले आफ्ना बेजोड प्रस्तुतिका साथमा दर्शक नचाउँदै आएका छन्। महोत्सवमा गायक रमेशराज भट्टराई, दीपक खड्का, गायिका उमा गिरी, हास्य कलाकार दीपक थापाले आफ्ना प्रस्तुतिमार्पत दर्शकलाई मोहित बनाउँदै आएका छन्। महोत्सवअन्तर्गत मंगलबार गायक पुरुषोत्तम न्यौपाने र जानकी तारामी मगर मुख्य आकर्षण बने।