अटेर गर्दै स्वास्थ्य संस्था



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरका स्वास्थ्य संस्था तोकिएको समयावधिसम्म खुल्ने नगरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अवज्ञा गर्दै सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, तथा उपस्वास्थ्य चौकी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नखोलिएका हुन्।

मकवानपुरका सम्पूर्ण स्वास्थ्य संस्थाका बहिरंग सेवालाई तोकिएको समयसम्म खोल्न निर्देशन दिइसकिए पनि व्यवहारमा लागू हुन सकेको छैन। स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी पनि निजामती कर्मचारीसरह भएकाले कार्यालय समयावधिभर काम गर्नुपर्ने नियम छ। तर, यो कार्यान्वयन तहमा पुगेको छैन।

स्वास्थ्य संस्थाको लापरबाही बिरामीहरू झन् मारमा परिरहेका छन्। मकवानपुरको सरकारी हेटौंडा अस्पतालमा मकवानपुरबाट मात्र नभएर अन्य जिल्लाबाट पनि बिरामी आउने गर्छन्। तर, अस्पतालले १२ बजेपछि बिरामी जाँचपास दिने गरेको छैन। यसलाई बढाएर ३ बजेसम्म पुर्याउने तयारी भइरहेको हेटौंडा अस्पताल अध्यक्ष सुनील मोक्तानले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसद्मा सार्वजनिक महत्त्वका विषयमा बोल्दै सरकारीस्तरबाट हुने स्वास्थ्य सेवालाई बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरिने बताएका थिए। उक्त घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले असोज ९ गते मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडालाई पत्र पठाएको थियो। पत्रपछि निर्देशनालयले मध्यमाञ्चलका १९ वटै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले असोज १७ गते नै ‘बिहान १० बजेदेखि ५ बजेसम्म बहिरंग सेवा दिनू’ भनेर सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरू र प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई लिखित निर्देशन दिइसकेको छ। तर, पहिले जस्तै १० बजे खुलेर दिउँसो २ बजे नै स्वास्थ्य चौकी बन्द गर्ने परिपाटी कायम छ।

प्रतिक्रिया दिनुहोस्