
मुगु ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा विमानस्थलमा टर्मिनल भवन निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा हवाई सेवा सञ्चालनमा गम्भीर समस्या देखिएको छ । झन्डै दुई दशकदेखि एयर ट्राफिक कन्ट्रोल काठको अस्थायी टहराबाटै सञ्चालन हुँदै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोड्रम इन्जिनियरिङ विभाग र ओम बुद्ध इन्टरनेसनल प्रालिबीच २०७६ साल असोज १६ गते टर्मिनल भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । तर सम्झौता भएको करिब ८ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । पटक–पटक गरी चारपटकसम्म म्याद थपिए पनि काम अझै अधुरै रहेको छ ।
आयोजना प्रमुख महेश नेपालीले एक वर्षअघि तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने जिल्ला अनुगमन टोलीसँग प्रतिबद्धता जनाए पनि हालसम्म काम टुंगो लाग्न सकेको छैन । भवनको मुख्य संरचना तयार भए पनि फिनिसिङ, रंगरोगन, पानीको पाइप जडानलगायतका महत्वपूर्ण काम अझै बाँकी छन् भने विगत लामो समयदेखि निर्माणको काम रोकिएको छ ।
हाल विमानस्थलको एयर ट्राफिक कन्ट्रोल काठको टहराबाट सञ्चालन गर्नुपर्दा प्राविधिकहरूलाई अनेक समस्या झेल्नुपरेको छ । विमानस्थल प्रमुख नवलकिशोर चवानका अनुसार बाहिरी होहल्ला, वर्षा हुँदा आवाज नसुनिने, हावा चल्दा टहरा हल्लिनेजस्ता समस्याबीच जोखिमपूर्ण अवस्थामा काम गर्नुपरेको छ ।
यात्री सेवा पनि उस्तै कष्टकर छ । यात्रुहरूको सुरक्षा जाँच काठकै अस्थायी संरचनामा गरिँदै आएको छ भने पर्याप्त शौचालय सुविधा नहुँदा यात्रुहरू थप समस्यामा परेका छन् ।
पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको रारा विमानस्थलमा आधारभूत पूर्वाधार नै अपूर्ण रहँदा सेवा प्रवाह प्रभावित भएको छ । सरोकारवाला निकायले समयमै निर्माण सम्पन्न नगर्दा स्थानीय तथा पर्यटक दुवै मारमा परेका छन् ।











प्रतिक्रिया