आज देशभर आंशिक बदली, केही स्थानमा वर्षा र तराईमा हावाहुरीको सम्भावना


काठमाडौँ। 

हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशको मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

आज कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित अन्य हिमाली भेगमा बादल लाग्ने सम्भावना छ। कोशीको तराई र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि बाँकी तराई क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ। साथै, गण्डकीका पहाडी भू–भाग र अन्य हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।