स्याङ्जा
नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्याङ्जा जिल्लामा आवश्यक पाठ्यपुस्तकहरु भित्रिएका छन् । बाल शिक्षादेखि कक्षा १० सम्मका विद्यार्थीका लागि आवश्यक सबै पाठ्यसामग्री जिल्लामा आइपुगेको सम्बन्धित निकायले जनाएको छ । यससँगै विगतका वर्षहरुमा देखिँदै आएको पाठ्यपुस्तक अभावको समस्या यस वर्ष पनि नदोहोरिने अपेक्षा गरिएको छ । पुस्तक आपूर्तिको जिम्मेवारी सम्हाल्दै आएको जनकशिक्षा सामग्री केन्द्र गण्डकी प्रदेशले विद्यालय तथा व्यवसायीहरुबाट आएको मागअनुसार पर्याप्त मात्रामा पाठ्यपुस्तक उपलब्ध गराएको हो । आवश्यक परिमाणमा पुस्तक समयमै प्राप्त भएपछि विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई राहत मिल्ने विश्वास गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष ध्रुव खनालका अनुसार यस वर्ष पनि जिल्लामा पाठ्यपुस्तकको अभाव नहुने निश्चित भएको छ । उहाँले जनकशिक्षा सामग्री केन्द्रले मागको आधारमा समयमै पुस्तक उपलब्ध गराएको बताउनुभयो । “विगत तीन वर्षदेखि जिल्लामा पाठ्यपुस्तकको अभाव छैन,” अध्यक्ष खनालले भन्नुभयो, “यस वर्ष पनि मागअनुसार सबै पुस्तक उपलब्ध भएकाले कुनै समस्या नआउने देखिएको छ ।” विगतमा ढिलाइ र आपूर्तिमा समस्या हुँदा विद्यार्थीहरुले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पुस्तक नपाउने अवस्था थियो । तर पछिल्ला वर्षहरुमा आपूर्ति प्रणालीमा सुधार आएपछि यस्तो समस्या समाधान हुँदै गएको छ । सम्बन्धित निकाय र व्यवसायीबीचको समन्वय प्रभावकारी हुँदा समयमै पुस्तक वितरण सम्भव भएको हो ।
गौतम स्टेशनरीका सञ्चालक युवराज गौतमले पनि जिल्लामा पुस्तक अभाव नहुने बताउनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक विद्यालयहरुको मागअनुसार उपलब्ध गराइन्छ । “नयाँ शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुँदैछ,” उहाँले भन्नुभयो, “विद्यालयहरुले विद्यार्थी संख्याका आधारमा पुस्तक माग गर्नुहुन्छ, त्यसपछि हामीले सोहीअनुसार उपलब्ध गराउने व्यवस्था गरेका छौँ ।” उहाँले सामुदायिक तथा निजी दुवै विद्यालयका लागि नेपाली तथा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तकहरु जिल्लामा भित्रिइरहेको जानकारी दिनुभयो । यसले विद्यार्थीहरुलाई अध्ययनमा सहजता ल्याउने र शैक्षिक गतिविधि सुरुदेखि नै व्यवस्थित रुपमा सञ्चालन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
जिल्लामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा करिब ४० व्यवसायी आवद्ध रहेका छन् भने कुल मिलाएर करिब ८० वटा स्टेशनरी व्यवसाय सञ्चालनमा रहेका छन् । यी व्यवसायीहरुले विद्यालय तथा विद्यार्थीसम्म पाठ्यपुस्तक पु¥याउने काम गर्दै आएका छन् । व्यवसायीहरुको सक्रियतासँगै वितरण प्रणाली पनि सुदृढ बन्दै गएको छ । शिक्षा क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरुका अनुसार समयमै पाठ्यपुस्तक उपलब्ध हुनु शैक्षिक गुणस्तर सुधारको महत्त्वपूर्ण आधार हो । पाठ्यपुस्तकको अभाव हुँदा विद्यार्थीको सिकाइ प्रक्रियामा असर पर्ने भएकाले यस्तो समस्या नआउनु सकारात्मक पक्ष मानिएको छ । समग्रमा हेर्दा स्याङ्जामा यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै पर्याप्त पाठ्यपुस्तक उपलब्ध हुनु शिक्षाका लागि सकारात्मक संकेतका रुपमा लिइएको छ । समयमै पुस्तक वितरण हुँदा विद्यार्थीहरुको सिकाइ प्रक्रिया प्रभावकारी हुने र शैक्षिक सत्र व्यवस्थित रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया