शिक्षण अस्पतालको कार्यालय समय परिवर्तन, अब हप्तामा दुई दिन बिदा


काठमाडौँ ।

 महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्नो कार्यालय समयमा परिवर्तन गरेको छ। नेपाल सरकारको पछिल्लो सूचना र त्रिवि कार्यकारी परिषद्को निर्णयलाई कार्यान्वयन गर्दै अस्पताल प्रशासनले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।

अस्पताल प्रशासनद्वारा जारी ‘अत्यन्त जरुरी सूचना’ अनुसार अब अस्पतालको कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ।

हप्तामा दुई दिन बिदा नयाँ व्यवस्थाअनुसार शिक्षण अस्पतालमा अब साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिइनेछ। यसअघि नेपाल सरकारले परीक्षणका रूपमा लागू गरेको दुई दिने सार्वजनिक बिदाको निर्णयसँग सामञ्जस्यता मिलाउन अस्पतालले यो कदम चालेको हो।

बिरामीलाई मर्का नपर्ने गरी ओपिडी र शल्यक्रिया दुई दिने बिदाका कारण उपचारका लागि आउने बिरामीहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै अस्पतालले वैकल्पिक व्यवस्था पनि गरेको छ। 

सूचनामा उल्लेख भएअनुसार:

ओपिडी (OPD) र शल्यक्रिया (Surgery) सेवाहरू शुक्रबारका दिन पूर्ण रूपमा सञ्चालन गरिनेछ।अन्य कार्यदिनहरूमा पनि सेवालाई थप प्रभावकारी रूपमा व्यवस्थापन गरिने अस्पताल प्रशासनले जनाएको छ।

त्रिवि कार्यकारी परिषद्को गत चैत २३ गतेको निर्णयअनुसार यो नियम तत्काल लागू हुने गरी कार्यान्वयनमा ल्याइएको हो। अस्पतालको यो निर्णयसँगै अब आइतबार पनि अस्पतालका प्रशासनिक र नियमित ओपिडी सेवाहरू बन्द रहनेछन्।