ऐतिहासिक र सांस्कृतिक वैभवले सुसज्जित कीर्तिपुरको काखमा अवस्थित सलिछेंको एउटा रैथाने नेवारी परिवारमा झन्डै पाँच दशकअघि जन्मिएका एक बालकले कुनै दिन विश्वका प्रसिद्ध म्याराथन ट्रयाकहरूमा नेपालकै कीर्ति राख्लान् भन्ने सायदै कसैले सोचेको थियो । बुवा भूयु महर्जन र आमा सिली माया महर्जनको स्नेहमयी काखमा हुर्किएका धर्म महर्जनको बाल्यकाल कीर्तिपुरका उकाली–ओराली र गल्लीहरूमा बित्यो । उमेरले साढे ५ दशक छुन लाग्दा उनले केवल आफ्नो उमेरलाई मात्र जितेका छैनन्, बरू उमेर भनेको संख्या मात्र हो भन्ने भनाइलाई चरितार्थ गरिदिएका छन् ।
वितेका ३५ वर्षदेखि उनका पाइतालाले सायदै कहिल्यै विश्राम लिए होलान । प्रत्येक पाइलासँगै उनले एउटा नयाँ सपना र नयाँ उद्देश्य प्राप्तिका लागि जग बसाल्दै गए । सन् १९९१ देखि स्वास्थ्य र मानसिक शान्तिका लागि एक्लै दौड्न सुरु गरेका धर्मका लागि दौड सुरुवाती दिनमा केवल एउटा व्यक्तिगत रुचि मात्रै थियो । झन्डै दुई दशकसम्म उनले कोलाहलबिहीन सडक र गाउँका गोरेटो बाटाहरूमा आफ्नै लयमा कुँदेर पसिना बगाए । जहाँ न कुनै दर्शक थिए, न त कुनै पदकको लोभ । तर, उनको भित्री मनमा एउटा यस्तो ज्वाला दन्किरहेको थियो, जसलाई बाहिर प्रस्फुटन हुन ४० वर्षको उमेर कुर्नुप¥यो ।

श्रीमती मथुरा नानी महर्जन र तीन सन्तानको अटुट साथ अनि प्रेरणाले उनलाई हरेक बिहान ४ बजेको न्यानो ओछ्यान छोडेर मैदानमा उत्रन सधैं ऊर्जा प्रदान गरिरह्यो । महर्जनको खेल जीवनको सबैभन्दा विशिष्ट र प्रेरणादायी मोड तब आयो, जब धेरै मानिसहरू शरीर थाक्न थालेको बहाना बनाउँदै सक्रिय जीवनबाट विश्राम लिने सोच बुन्छन् । ४० वर्षको उमेरमा मानिसहरू प्रायः ‘रिटायर्ड’ मानसिकतामा पुग्छन् । तर, धर्मका लागि भने त्यही उमेर व्यावसायिक खेल जीवनको ‘ओपनिंग’ बन्यो । दशरथ रंगशालाको रातो सिन्थेटिक ट्रयाकबाट आधिकारिक रूपमा सुरु भएको उनको यो यात्रा सहज भने थिएन ।
सुरुमा ५ र १० किलोमिटरको दौडमा भाग लिन खोज्दा उनलाई उमेर र प्राविधिक छनोटका नाममा कतिपय प्रशिक्षकहरूले रोक्ने प्रयास गरे । “यो उमेरमा अब के दौडिन्छौ र ?” भन्ने आशयका शब्दहरूले उनको मनोबल गिराउन खोजे पनि धर्मले त्यसलाई चुनौतीको रूपमा स्वीकार गरे । उनले हार मानेनन्, बरू सिधै राष्ट्रियस्तरको ४२.१९५ किलोमिटरको कठिन ‘फुल म्याराथन’ मा दौड्ने अठोट गरे । जहाँ उनले कसैले नसोचेको पाँचौं स्थान हासिल गरे । आफ्नो पहिलो प्रयासमै खुला प्रतिस्पर्धामार्फत राष्ट्रियस्तरका धावकहरूसँग प्रतिस्पर्धा गर्दै सम्मानित स्थान हासिल गरेपछि खेल जगत्का पण्डितहरूसमेत अक्क न बक्क परे । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । सातौँ बृहत् राष्ट्रिय खेलकुदमा ४५ वर्षको उमेरमा पुग्दा पनि सेना र सशस्त्र प्रहरीका जवानहरूसँग कुममा कुम मिलाएर टप १० मा स्थान बनाउनु उनको असाधारण शारीरिक क्षमता र मानसिक दृढताको प्रमाण थियो ।
सन् २०१२ बाट सुरु भएको उनको अन्तर्राष्ट्रिय यात्राले त नेपाली भेट्रान एथ्लेटिक्सको इतिहासमा नयाँ आयाम नै थप्यो । ओसाका, बोस्टन, बर्लिन, लण्डन र टोकियो जस्ता विश्वका प्रख्यात ‘वल्र्ड म्याराथन’ का ट्रयाकहरूमा धर्मका पाइतालाले नेपाली माटोको सुगन्ध छरेका छन् । विशेषगरी छिमेकी राष्ट्र भारतमा हुने प्रतिष्ठित टाटा मुम्बई म्याराथनमा महर्जनले जुन वर्चस्व कायम गरेका छन्, त्यो कुनै पनि नेपाली खेलाडीका लागि लोभलाग्दो र गर्वको विषय हो । सन् २०२४ र २०२५ मा लगातार ५० देखि ५४ वर्षको उमेर समूहमा स्वर्ण पदक जितेर उनले भारतीय भूमिमा नेपालको चन्द्र–सूर्य अंकित सिम्रिक र निलो रङको राष्ट्रिय झन्डालाई गौरवका साथ फहराए । हैदरावाद, काश्मिर र पटनाका म्याराथनहरूमा स्वर्ण पदक चुम्नु र सन् २०२५ को प्रतिष्ठित ‘प्रोक्याम स्लाम साइकल’ मा समग्रमा तेस्रो स्थान हासिल गर्नुले उनी केवल दौडमा मात्र होइन, धैर्यता आवश्यक पर्ने हरेक विधामा अब्बल छन् भन्ने पुष्टि गर्छ । उनको यो सफलताको फेहरिस्त सुन्दा जति सुखद लाग्छ, यसको पृष्ठभूमिमा लुकेका संघर्ष, अपमान र प्रशासनिक बाधा–व्यवधानहरू उत्तिकै मर्मस्पर्शी र हृदयविदारक छन् ।
एक जना समर्पित खेलाडीका लागि ट्रयाकमा हार्नु स्वाभाविक प्रक्रिया हो । तर, खेलको मैदान टेक्नै नपाई प्रशासनिक र प्राविधिक कारणले घर फर्कनुपर्दाको पीडा भने शब्दमा बयान गर्न सकिँदैन । धर्म महर्जनले आफ्नो खेल जीवनमा यस्ता कैयौँ बज्रपातहरू सहेका छन् । सन् २०२२ मा वल्र्ड एब्बोट डब्लुएमएम वान्डा एज ग्रुप च्याम्पियनसिपमा भाग लिन ठूलो सपना र उत्साहका साथ अमेरिकाको शिकागो पुगेका उनलाई अध्यागमनको एउटा सानो प्राविधिक उल्झन देखाएर विमानस्थलबाटै फिर्ता पठाइयो । जबकि उक्त प्रतियोगिताको लागि पूर्व तयारीको क्रममा आयोजकले निर्माण गरेको प्रोमोसन पोस्टरमा समेत उनको फोटो प्रकाशित गरिसकेको थियो । त्यो क्षण सम्झँदा आज पनि उनका आँखाहरू ओसिला हुन्छन् । वर्षौँको मेहनत, लाखौँको ऋण र देशको प्रतिनिधित्व गर्ने सपना बोकेर गएका एक जना धावकलाई बिना गल्ती अपराधी जस्तो व्यवहार गरेर फर्काइनु एउटा राष्ट्रकै अपमान थियो । त्यसपछि पनि सन् २०२३ को सिकागो म्याराथन र २०२५ को न्युयोर्क म्याराथनमा भिसाको समस्या र राज्यको उदासिनताका कारण उनले सहभागिता जनाउन सकेनन् । धेरैले यस्ता ठूला अवरोध र अपमान भोगेपछि खेल जीवनबाटै सन्यास लिने वा निराश हुने बाटो रोज्थे होलान् । तर, महर्जन ती फलाम सरह मजबुतमध्येका मानिस हुन् जसलाई जति बढी ठोक्यो, त्यति नै राम्रो आकार लिँदै गयो । उनले सिकागो र न्युयोर्कमा गुमेको अवसरलाई आफ्नो कमजोरी वा निराशाको कारण बनाएनन् । त्यसलाई थप ऊर्जाको रूपमा बदले ।
अहिले पनि महर्जन विभिन्न देशमा आयोजना हुने विश्वस्तरका च्याम्पियनसिपको लागि कुनै तन्नेरी धावक सरहको जोश र जाँगरका साथ तयारीमा जुट्ने गरेका छन् । उनको यो अविचलित अठोटले सिकाउँछ कि जीवनमा बाह्य परिस्थिति जस्तोसुकै भए पनि आन्तरिक संकल्प बलियो छ भने गन्तव्य अवश्य भेटिन्छ । उनको यस्तो साहस र फिट्नेसको रहस्य अत्यन्तै सरल र मौलिक जीवनशैलीमा लुकेको छ । आधुनिक खेलकुदमा खेलाडीहरू महँगा डाइट चार्ट, प्रोटिन सप्लिमेन्ट र अत्याधुनिक जिममा निर्भर रहन्छन् । तर, महर्जनले भने कीर्तिपुरको रैथाने परिवेशमा पाक्ने दाल–भात, तरकारी र नेवारी समुदायको परम्परागत पौष्टिक खानाबाटै आफूलाई स्वस्थ र बलियो बनाउँदै आएका छन् । अनुशासन उनको जीवनको मूल मन्त्र हो । घामको पहिलो झुल्काभन्दा पहिले नै सडकमा निस्कने धर्मका लागि दौड केवल एउटा शारीरिक अभ्यास मात्र होइन, पूजा, ध्यान र बाँच्ने आधार पनि बनिसकेको छ । उनी विश्वका ८०–९० वर्षका वृद्ध धावकहरूले सहजै म्याराथन पूरा गरेको भिडियो हेरेर आफूलाई प्रेरित गर्छन् र भन्छन्,–“दौडनका लागि उमेर कहिल्यै बाधक हुँदैन, केवल इच्छाशक्ति बलियो हुनुपर्छ ।” ३५ वर्ष लामो निरन्तरको दौडमा उनले थुप्रै पदक, प्रशंसा पत्र र सम्मानहरू त कमाए, तर उनको सबैभन्दा ठूलो उपलब्धि भनेको ती हजारौँ युवा र वृद्धहरू हुन्, जसले महर्जनलाई सडकमा दौडिरहेको देखेर आफ्नो स्वास्थ्यका लागि पाइला चाल्न सुरु गरेका छन् । उनी धेरैका लागि ‘रोल मोडल’ पनि बनिरहेका छन् ।

नेपाल जस्तो देशमा जहाँ खेलकुद र त्यसमा पनि भेट्रान एथ्लेटिक्सलाई अझै पनि सौखको रूपमा मात्र हेरिन्छ, त्यहाँ महर्जन जस्ता खेलाडीले आफ्नै व्यक्तिगत लगानी र जोखिममा देशको झन्डा विश्वस्तरमा फहराउनु चानचुने कुरा होइन । उनी राज्यको मुख ताकेर बस्दैनन् । आफ्नै कर्मले राज्यलाई उनीप्रति गौरव गर्न बाध्य बनाउँछन् । नेपालको नाम विश्वका कुना–कुनामा पु¥याउने र नेपालका लागि अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण पदक जित्दै राष्ट्रिय झण्डा फहराउने उनको चाहना अझै उत्तिकै जवान र ताजा छ । धर्म महर्जनको यो असाधारण र प्रेरणादायी यात्राले एउटा गहन जीवन दर्शन सिकाउँछ । वास्तवमा जीवन आफैँमा एउटा लामो म्याराथन हो, जहाँ हार र जितको तात्कालिक महत्व त होला, तर सबैभन्दा ठूलो कुरा भनेको निरन्तर दौडिरहनु, आफ्नो अस्तित्वका लागि लडिरहनु र परिस्थिति जस्तोसुकै भए पनि अगाडि बढिरहनु नै वास्तविक सफलता हो । कीर्तिपुरको यो गौरवपूर्ण व्यक्तिका पाइतालाहरू अझै कैयौँ माइलसम्म विश्वका म्याराथन ट्रयाक र सडकहरूमा गुञ्जिरहनुपर्छ । ढल्कंदै गएको उमेरमा पनि तन्नेरी जोशका साथ आगामी प्रतियोगिता हुने रूटमा जब उनले दौड सुरु गर्नेछन्, उनीसँगै करोडौं नेपालीहरुको आशा र प्रार्थना पनि दौडिनेछ ।
धर्म महर्जनका उपलब्धिहरू :
– टाटा मुम्बई म्याराथन,२०२६ : कांस्य
– प्रो–क्याम स्ल्याम साइकल, २०२५ : भारतभरिका सबै चरणहरू पूरा गरी समग्रमा तेस्रो स्थान
– हैदरावाद म्याराथन,२०२५ : स्वर्ण
– टाटा मुम्बई म्याराथन, २०२५ : स्वर्ण
– काश्मिर म्याराथन, २०२४ : स्वर्ण
– एसबिआई पटना म्याराथन, २०२४ : स्वर्ण
– इन्टरनेसनल ओपन भेट्रान्स एथ्लेटिक्स च्याम्पियनसिप,२०२४ (बंगलादेश)ः स्वर्ण (५ र १० कि.मि)
– टाटा मुम्बई म्याराथन,२०२४ : स्वर्ण
– अपोलो टायर नयाँ दिल्ली हाफ म्याराथन, २०२४ : स्वर्ण
– टोकियो म्याराथन, २०२३ : सहभागिता
– टिसिएस लन्डन म्याराथन, २०२२ : सहभागिता
– बिएमडब्लु बर्लिन म्याराथन, २०२१ : सहभागिता
– १२३औं बोस्टन म्याराथन, २०१९ : सहभागिता
– ओसाका म्याराथन, २०१८ : सहभागिता











प्रतिक्रिया