‘ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टर’ ले समर क्याम्प गर्ने


काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन र अनुभवी गोलरक्षक विकेश कुथुको नेतृत्वमा सञ्चालित ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले ‘समर फुटबल क्याम्प’ सञ्चालन गर्ने भएको छ । यो विद्यालयहरूमा वार्षिक परीक्षापछिको लामो बिदालाई सदुपयोग गर्ने आसयमा विद्यार्थीहरूका लागि सञ्चालन गरिने पनि बताइएको छ ।

यही चैत २८ गतेदेखि आगामी वैशाख ५ गतेसम्म सातदोबाटोस्थित एनएसएफ स्पोट्र्स कम्प्लेक्समा यो प्रशिक्षण शिविर चल्नेछ । बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने यस क्याम्पको मुख्य उद्देश्य बालबालिकालाई मोबाइल, ल्यापटप र टेलिभिजन जस्ता विद्युतीय उपकरण (ग्याजेट) बाट टाढा राखी उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउनु हो ।

यो क्याम्पले केवल मनोरञ्जन मात्र नभई नेपाली फुटबलको जगलाई मजबुत बनाउने लक्ष्य समेत राखेको छ । एसियाली फुटबल महासंघ (एएफसी) प्रमाणित प्रशिक्षकहरूबाट प्रशिक्षण दिइने हुनाले सहभागी विद्यार्थीहरूले फुटबलको आधारभूत सीप र कौशललाई व्यावसायिक ढंगले सिक्ने अवसर पाउनेछन् ।

६ महिना अघिदेखि ग्रासरुट तहको प्रशिक्षणमा सक्रिय रहेको यस सेन्टरले सहभागीमध्ये उत्कृष्ट प्रतिभा देखिएका दुई जना प्रशिक्षार्थीलाई एक वर्षको निःशुल्क छात्रवृत्तिसमेत प्रदान गर्ने घोषणा गरेको छ ।

५ हजार रुपैँया दर्ता शुल्क तोकिएको यस क्याम्पमा बालबालिकाहरूको खेलप्रतिको लगाव बढाउन र उनीहरूमा अनुशासनको विकास गर्न विशेष कार्यक्रमहरू तय गरिएको छ ।

हरेक शनिबार नियमित प्रशिक्षण गराउँदै आएको ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले यस समर क्याम्पमार्फत नयाँ पुस्तालाई खेलकुदको माध्यमबाट प्रगतिशील मार्गमा डो¥याउने विश्वास लिएको छ ।
शारीरिक व्यायाम, सीप विकास र खेल भावनालाई प्राथमिकता दिने यो पहलले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।