काठमाडौं ।
साढे ६ करोड रुपियाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका आठौं तहमा कार्यरत एक लेखा अधिकृतले करोडौं रुपियाँको सम्पत्तिको स्रोत लुकाउन ऋण लिएको भनी कागजात तयार पारेको पाइएको छ ।
गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलले सो कार्य गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धानको अनुसन्धानले देखाएको छ ।
पौडेले पदीय मर्यादाविपरीतका कार्यहरूबाट जम्मा ६ करोड २६ लाख ९३ हजार १ सय २९ रुपियाँ ८२ पैसा आम्दानी गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयो । त्यसमध्ये ऋण लिएको भनी २ करोड ५१ लाख ३४ हजार ४ सय ६२ रुपियाँ १४ पैसाको स्रोत लुकाएको पाइएको छ । पछि ऋण फिर्ता गर्न भनी बैंकबाट पैसा लिएर तिरेको कागजात गरेका थिए ।
गैरकानुनी तवरले सम्पत्ति आर्जन गरी स्रोत लुकाएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट सो तथ्य खुलेको अख्तियारले जनाएको छ । सहायक प्रवक्ता अधिकारीका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको स्रोत लुकाउन र छल्ने उद्देश्यले पौडेलले कुनै पनि ऋण सापटी नलिई ऋण सापटी लिएको भनी सोहीअनुसार कागजात तयार पार्नुका साथै विभिन्न व्यक्तिहरूलाई ऋण सापटी फिर्ता गरेको भनी बैंक तथा वित्तीय संस्थाबाट कारोबार गरिएको थियो । उहाँले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा पौडेलसहित उहाँको परिवार संलग्न रहेको पाइएको बताउनुभयो ।
पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये उनकी श्रीमती हुमा कुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थामा मुद्दती निक्षेप तथा निक्षेप खातामा २ करोड ५१ लाख ३४ हजार ४ सय ६२ रुपियाँ १४ पैसा रहेको अख्तियारले जनाएको छ ।
सो रकममा ब्याजवापत बढेबढाएको रकम ७ करोड ३२ लाख ८ सय ६२ रुपियाँसमेत गरी कुल रकम २ करोड ५८ लाख ६७ हजार ३ सय २४ रुपियाँ स्रोत लुकाइएको पाइएको छ । पछि सो रकममध्ये २ करोड ५३ लाख रुपियाँ विभिन्न तहको कारोबारहरूको जालोमार्फत सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, कारोबार लुकाउने, छल्ने, बदल्ने समेतका कार्य गरे गराएको अनुसन्धानबाट देखिएको अख्यितारले जनाएको छ ।
कलुषित मनसाय राखी उक्त कसुरजन्य कार्यको सजाय छल्ने बदनियतपूर्ण मनसायका साथ त्यसरी प्राप्त गरेको सम्पत्तिको अधिकार बदल्ने र स्वामित्व परिवर्तन गरेको देखिएकोले उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअनुसार कसुर रहेको अख्तियारले दाबी गरेको छ ।
सो ऐनको २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा ३ को उपदफा (३) ले परिभाषित कसुर भएको अख्यितारको जिकिर रहेको छ ।
अख्तियारले सम्पति शुद्धीकरणको अभियोगमा सोमवार सो मुद्दा दायर गरेको हो । अख्तियारले सो मुद्दा दायर गर्दा पाँच जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले अनुसन्धानबाट बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेको पुष्टि भएको दाबी गरेको छ । पौडेलविरुद्ध यसअघि पनि ६ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ ।
अख्तियारले सम्पत्ति शुद्धीकरणको रकम बराबर बिगो कायम गरी कैद तथा जरिवाना गर्न माग गरेको छ । अख्तियारले एक करोड ७० लाख १३ हजार ५० रुपियाँ ७७ पैसा जफत गर्नसमेत अदालतसमक्ष माग गरेको छ । नपुग बिगोका सम्बन्धमा प्रचलित कानुनबमोजिम मागदाबी लिनुका साथै सम्पत्ति शुद्धीकरण कसुर गरेको हुँदा निजलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (७) बमोजिम थप सजायको मागदाबी लिइएको छ ।
पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र ब्याजबाट बढेबढाएका २ करोड ५८ लाख ६४ हजार ३ सय २४ रुपियाँ र पैसा ५३ कायम गरी सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय गरी पाउन मााग दाबी लिइएको छ ।
भ्रष्टाचारको कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै एवं विश्वास गर्नुपर्ने मनासिव आधार हुँदा हुँदै पौडेललाई सहयोग पु¥याएको मिसिल संलग्न सबुद प्रमाणबाट देखिएको भन्दै हुमा कुमारी उपाध्याय, जमुनाकुमारी रोकाक्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेलविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरूलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा ३ को उपदफा (३) को परिभाषित कसुरको मतियार रूपमा मुद्दा दायर गरेको छ ।
उपाध्यायलाई २ करोड तेइस लाख रुपियाँ, जमुनाकुमारी रोका क्षेत्रीलाई १ करोड ६३ लाख ६ हजार रुपियाँ र हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई १ करोड ३८ लाख रुपियाँ बिगो कायम गरेको छ । सोही ऐनको दफा ३० को उपदफा (२) बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा कैद र जरिवाना सजाय गरी पाउन प्रतिवादी कायम गरेको अख्तियारले जनाएको छ ।











प्रतिक्रिया