भक्तपुरमा प्रहरीको स्वीप अपरेसन जारी,  दुई दिनमै ९० जना पक्राउ

1.69k
Shares

भक्तपुर ।  

जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको गैरकानुनी कार्य नियन्त्रण अन्तर्गत स्वीप अपरेसनका क्रममा पक्राउ पर्नेको संख्या ९० पुगेको छ । प्रहरीले पछिल्ला दुई दिनमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् । 

प्रहरी परिसर प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार, गएराती विभिन्न स्थानबाट ३० जनालाई पक्राउ गरिएको छ । अघिल्लो दिन ६० जना पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

कानुन बिपरीतका विभिन्न घट्नामा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले स्वीप अप्रेसन जारी रहेको बताउनुभयो । 

सार्वजनिकस्थलमा शान्ति सुरक्षा भंग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको खड्काको भनाई छ ।

शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रमुख खड्काले जानकारी दिनुभयो ।

परिसरअन्तर्गत रहेका जिल्लाका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरिएको उहाँको भनाई छ ।पक्राउ परेका सबैको अनुसन्धानपछि अपराधिक घटनामास संलग्न नभएका पाइए छाडिने गरेको प्रहरीले जनाएको छ ।

परिसरले स्वीप अपरेसन जारी राखेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो ।

समाजमा शान्तिसुरक्षा कायम राख्ने मुख्य उद्देश्यले स्विप अप्रेसन सुरु गरिएको जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि  उक्त अप्रेसन सञ्चालन गरिएको बताउनुभयो ।

परिसर प्रमुख खड्काले अपरेसनले स्थानीयमा डरत्रासको वातावरण अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।