देय् दबूको इतिहासमा नयाँ अध्याय, रश्मिला प्रजापति पहिलो महिला अध्यक्ष


काठमाडौं।

महिला नेतृत्वको नयाँ अध्याय खोल्दै नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूमा पहिलोपटक महिला अध्यक्ष चयन भएकी छन्। 

महिला अधिकार र आदिवासी जनजाति आन्दोलनमा लामो समयदेखि सक्रिय रश्मिला प्रजापति देय् दबूको आठौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भएकी हुन्।

राजधानीमा आइतबार सम्पन्न महाधिवेशनले प्रजापतिलाई नेतृत्व सुम्पिएको हो। देशभर ६८ जिल्लामा शाखा विस्तार गरिसकेको देय् दबू नेवाः समुदायको प्रमुख छाता संगठन हो, जसले तीन दशकदेखि भाषा, संस्कृति र समुदायको अधिकारका लागि काम गर्दै आएको छ ।

झन्डै डेढ दशकदेखि संगठनमा सक्रिय प्रजापति यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिइन्। उनी देय् दबू अन्तर्गत नेवाः मिसा दबूकी संस्थापक अध्यक्ष समेत हुन्। महिला नेतृत्व विकास र सशक्तीकरणमा निरन्तर काम गर्दै आएकी उनले आफ्नो उम्मेदवारीलाई त्यसै अभियानको परिपक्व स्वरूपका रूपमा व्याख्या गरेकी थिईन् ।

संघीय संरचना अनुरूप केन्द्रदेखि वडा तहसम्म संगठन विस्तार भइसकेको उल्लेख गर्दै उनले अब संगठनलाई अझ चलायमान, प्रभावकारी र रूपान्तरणकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। महिला सशक्तीकरणलाई संगठनको समग्र हितसँग जोड्दै अघि बढाउने उनको योजना छ ।

प्रजापतिले नेवाः समुदायको सामाजिक र आर्थिक सशक्तीकरणका साथै देय् दबूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान सुदृढ गर्ने लक्ष्य पनि अघि सारेकी छन्। साथै नेपाल भाषा, संस्कृति र सम्पदाको संरक्षणसँगै आर्थिक विकासमा योगदान दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

वरिष्ठ उपाध्यक्षमा सत्यनारायण डंगोल, उपाध्यक्ष (महिला) सिता श्रेष्ठ, उपाध्यक्ष (कोशी प्रदेश) नरेशकुमार शाक्य, उपाध्यक्ष (मधेश प्रदेश) मा दक्षनारायण श्रेष्ठ, उपाध्यक्ष (वाग्मती प्रदेश) मा शान्त श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा हरिकुमार श्रेष्ठ, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा बिजुला जोशी, उपाध्यक्ष (कर्णाली प्रदेश)मा खग्रेन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष (सुदुरपश्चिम प्रदेश) मा ऋषिकेश श्रेष्ठ, र उपाध्यक्ष (काठमाडौं उपत्यका) मा उमेश स्थापित निर्वाचित रहेका छन्।

महासचिव श्रीकृष्ण श्रेष्ठ र उपमहासचिवमा वाशु श्रेष्ठ रहेका छन् ।