काठमाडौं महानगरपालिकाको ४८ औं बोर्ड बैठक

एकैसाथ २७ निर्णय कार्यान्वयनको चरणमा जाँदै

1.69k
Shares

-बोर्ड बैठकद्वारा पूर्वमेयर प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको कार्यपालिकाका (बोर्ड) बैठकले एकैसाथ २७ निर्णय गरेको छ । २७ बाहेक दुईवटा फरक निर्णय भएको छ । बैठकमा काठमाडौं महानगगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह प्रधानमन्त्री हुनुभएकोमा बधाई ज्ञापन गरिएको छ भने पूर्वमेयर शाहका विज्ञद्वय भौतिक योजना तथा निर्माणमन्त्री सुनील लम्साल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका साथै कामपामा मेयरको सचिवालयमा कार्यरत भएर सांसद भएका सबैलाई पूर्वमेयरको सचिवालयमा कार्यरत भएर सांसद भएका सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

कार्यबाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ११ विभागका २७ निर्णय गरेको हो । बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने, काठमाडौं महानगरपालिका श्रम बैंक सञ्चालन कार्यविधि, २०८० संशोधनको लागि सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको हो ।

विभिन्न विभागले पेस गरेको प्रस्तावित मस्यौदा कार्यपालिकाको बैठकबाट स्वीकृत भएको हो । बैठकले वित्त विभागअन्तर्गत पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि २०७८ संशोधन गर्ने, तत्कालीन मेयर बालेनको कार्यकालमा खरिद गरी विभिन्न स्थानीय तहमा वितरण गरिएका एम्बुलेन्सको भुक्तानी गर्ने, लामो समयदेखि रोकिएको र विवादित टेकुस्थित प्रशासनिक भवन निर्माणको म्याद थप गर्ने निर्णय गरेको छ ।

बैठकमा मेयर डंगोलले ऐजेन्डा स्वीकृतको लागी पेस गर्नुभएको २७ वटै एजेन्डा पारित भएको छ । कार्यपालिकाको बैठकले पारित गरेको ऐजेन्डाहरू तत्काल लागू हुने बताइएको छ ।

बैठकले बन्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रको बालीनाली, घरटहरा र गोठहरूको क्षतिपूर्तिका लागि दररेट स्वीकृति गर्ने र फोहोरमैला स्थानान्तरण तथा प्रशोधन केन्द्र स्थापनाको लागि जग्गा व्यवस्थापन गर्ने प्रस्ताव पारित भएको छ । प्रशोधन केन्द्रका लागि जग्गा पाएको छैन, यद्यपि, प्रस्ताव भने स्वीकृत भइसकेको छ । कामपाले पुलमुनि र विभिन्न खुला स्थानमा राजधानीको फोहोर व्यवस्थापन गरिरहेको छ । ती स्थानमा प्रशोधन केन्द्र स्थापना गर्न दिन चलखेल सुरु भएको छ । स्थानीयको विरोधका बाबजुद कामपाले खोला किनारा र सार्वजनिक स्थानमा फोहोर संकलन, ढुवानी र प्रशोधन गर्न दिन लागेको हो ।

प्रभावित क्षेत्रमा स्वास्थ्य बिमा सञ्चालन गर्न नपुग रकम रकमान्तर गरी स्वास्थ्य बिमावापतको रकम भुक्तानी गर्ने, वडा नं १३ ताहाचलस्थित वृद्धि निर्माण सेवा प्रालिको आवासीय कम व्यापारिक भवनको निर्माण तथा सञ्चालनको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृति गर्ने, कानुनी सल्लाहकारको म्याद थप गर्नेलगायतका निर्णय भएको छ ।

विवाद व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि २०८२ पनि बैठकले स्वीकृत गरेको छ । न्यायिक समितिबाट सूचिकृत मेलमिलापकर्ताको नामावली अनुमोदन, मेट्रो मार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ स्वीकृति गरेको छ ।

होमस्टे दर्ता तथा नवीकरण कार्यविधि तर्जुमाको लागि सैद्धान्तिक सहमति दिने, भद्रकाली गुठी असन कमलाक्षीलाई अनुदान उपलब्ध गराउने , नेपाल भाषा विश्वविद्यालय स्थापना र सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसै गरी बैठकले सामुदायिक विद्यालयका विद्यार्थीहरूको अध्ययन अवलोकनका लागि सम्बन्धित विद्यालयलाई अनुदान निकासा गर्ने निर्णय गरेको छ । बैठकले सामुदायिक विद्यालय सार्वजनिक खरिद, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन, प्रारम्भिक बालविकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन तथा व्यवस्थापन, विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन, वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन र कामपा शैक्षिक गुठी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ स्वीकृत गरेको छ।

बैठकले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त सहर व्यवस्थापन कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति गर्न स्वीकृत लिएको छ । काठमाडौं महानगरपालिका युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग समझदारी तथा सहकार्यगर्ने, अस्थायी संरक्षण गृह सञ्चालनसम्बन्धी मापदण्ड तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

कार्यस्थलमा हुने लैङ्गिक हिंसालगायत अन्य सबै किसिमका लैङ्गिक हिंसाविरुद्धको कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति कामपा साझेदारी तथा लगानी ऐन, २०७९ संशोधन गर्न सैद्धान्तिक सहमति दिने, महानगर प्रहरी बल मातहत कार्यरत कर्मचारीको रासनभत्ता र महानगर प्रहरीबलको कार्यालय सञ्चालनको लागि गरिएको घरबहाल सम्झौता गर्ने निर्णय गरेको छ ।

माघ ४ गतेबाट कार्यबाहक मेयरको जिम्मेवारी लिएपछि डंगोलले तेस्रो बोर्ड बैठक डाक्नुभएको हो । यसअघि पूर्वमेयर बालेन्द्र शाहको राजीनामा स्वीकृत गर्न ४६ औं बैठक माघ ४, ४७ औं बैठक फागुन १ र हिजो ४८ औं बैठक बसेको थियो ।